‘वर्कपरमिट’ नभएका खेलाडी खेलाउँदा विवादमा तानियो कोहलपुर गोल्ड कप
Thursday, May 7th, 2026, 8:12 pm
Kalpristha
निर्मल आचार्य
कोहलपुर, २४ वैशाख
कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता वर्क परमिट विवादका कारण नयाँ मोडमा पुगेको छ। विदेशी खेलाडीको श्रम स्वीकृतिसम्बन्धी विषय उठेपछि नाइजेरियाली टोली जस्ट जोन एफसी प्रतियोगिताबाट बाहिरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आवश्यक वर्क परमिट नलिएका विदेशी खेलाडीलाई खेलमा सहभागी नगराउन निर्देशन दिएपछि आयोजक रेसिङ साहारा क्लबले प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल तालिका संशोधन गरेको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले जस्ट जोन एफसीको स्थानमा अब रोयल फुटबल क्लब (कर्णाली प्रदेश) ले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। खेल भने पूर्वनिर्धारित समयमै सञ्चालन हुने बताइएको छ।
यसअघि जस्ट जोन एफसीले लिग चरणमा रोयल फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। तर प्रशासनको निर्देशनपछि टोलीलाई प्रतियोगिताबाट बाहिरिनु परेको आयोजकले जनाएको छ। प्रतियोगिता संयोजक कर्ण बस्नेतले देशका विभिन्न फुटबल प्रतियोगितामा विदेशी खेलाडी सहभागी हुँदै आएको अवस्थामा कोहलपुर गोल्डकपमा मात्रै रोक लगाइनु दुःखद भएको बताए। उनले एउटै प्रकृतिका प्रतियोगितामा फरक व्यवहार देखिनुले खेलकुद क्षेत्रमै अन्योल र निराशा पैदा गरेको प्रतिक्रिया दिए।

…………
क्लबका सचिव नवकिरण शाहले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति लिएर प्रतियोगिता सञ्चालन गरिएको र टोली सेमिफाइनलसम्म पुगिसकेको अवस्थामा अचानक विदेशी खेलाडीलाई रोक लगाइनुले प्रतियोगिताको प्रतिष्ठामै असर पुगेको बताए। उनले हालै सम्पन्न खजुरा गोल्डकपमा पनि विदेशी खेलाडी सहभागी भएको स्मरण गराउँदै कोहलपुर गोल्डकपलाई मात्रै लक्षित गरिएको जस्तो देखिनु सकारात्मक सन्देश नभएको उल्लेख गरे।
त्यस्तै, क्लबका अध्यक्ष चक्र चिमला क्षेत्रीले प्रतियोगिता सुरु हुनुभन्दा एक महिनाअघि नै सम्बन्धित निकायबाट आवश्यक अनुमति लिइसकेको दाबी गर्दै खेल सञ्चालन भइरहेकै बेला आएको निर्णयले आयोजक पक्ष हतोत्साहित बनेको बताए। उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।