खजुरा-डी गाउँमा सुरु भयो प्रथम अशोक स्मृति कप फुटबल, न्यु डाँफेको विजयी सुरुआत
Sunday, May 10th, 2026, 9:22 pm
Kalpristha
गणेश राई
खजुरा, वैशाख २७ गते
न्यु डाँफे स्पोर्टस क्लबले प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा भएको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्टस क्लबले सडनडेथमा (७–५ ले)कालिका युवा क्लब बर्दियालाई पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

…..

……..

……….
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने न्यु डाँफे स्पोर्टस क्लबका रोयल पुन मगर प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । आइतबार देखि सुरु भएको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार सिमलघारी एफसी र चन्द्र ज्योति युवा क्लबबिच प्रतिस्पर्धा हुनेछ । श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना र सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह–आयोजनामा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
आइतबार प्रमुख अतिथी सहायक रथी प्रशान्त विक्रम राणाले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा खजुरा गाउँपालिकाका कार्यवहाक अध्यक्ष एवम वडा नम्बर ४ वडा अध्यक्ष टेक बहादुर रोकाय, स्व. अशोक विकको छोरी एलिसा विक, श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष मानार्थ उपसेनानी कृष्णलाल गिरी, प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनार लगायतले उपस्थिती रहेको थियो ।
पुर्व फुटबल खेलाडी अशोकले यस क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका प्रतियोगितामा खेल्नु भएको थियो । उहाँको स्मृतिमा स्थानीय स्तरका खेलाडीलाई अवसर प्रदान गर्नको लागि प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ । जेठको ३ गते सम्म चल्ने प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा– ११ (आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ ।