बाँकेमा १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
Monday, May 11th, 2026, 9:29 pm
Kalpristha
गणेश राई
खजुरा, वैशाख २८ गते
१७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिता सोमबार देखि नेपालगन्ज रंगशालामा सुरु भएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २८ देखि ३० गते सम्म चल्नेछ ।
प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगितामा डुडुवा गाउँपालिकाले भने सहभागिता जनाएको छैन । सोमबार एक कार्यक्रमको बिच जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य जनक केसी, आयोजक बाँके जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतले उद्घाटन गर्नु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, कराते, तेक्वान्दो, उसु खेल समावेश गरिएको छ । बाँके जिल्ला स्तरीय १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको विजेता खेलाडीहरुले लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् ।
प्रदेश स्तरीय प्रतियोगिता जेठ १ देखि ३ गते सम्म दाङमा संचालन हुनेछ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा छनोट भएका खेलाडीले काठमाडौैमा जेठ ६ देखि ८ गते सम्म सहभागिता जनाउने छन् ।