कबडडी छात्र-छात्राको स्वर्ण जित्यो खजुराले
Tuesday, May 12th, 2026, 8:52 pm
Kalpristha
खजुरा, वैशाख २९ गते
खजुरा गाउँपालिकाको छात्र र छात्रा टिमले नेपालगन्जमा जारी १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा कबड्डी तर्फ स्वर्ण जित्न सफल भएको छ । नेपालगन्ज रंगशालामा भएको छात्र तर्फको फाईनमा खजुराले नेपालगन्ज उपमहानगरपालिकालाई पराजित गरेको थियो । छात्र तर्फको कबड्डीमा बैजनाथ गाउँपालिका तेस्रो र कोहलपुर नगरपालिका तेस्रो भयो । छात्रा तर्फको कबड्डीमा खजुराले नेपालगन्जलाई पराजित गरेको थियो । छात्रा कबड्डीमा बैजनाथ तेस्रो र कोहलपुर तेस्रो भएको छ ।
यसैगरी छात्र तर्फको हाइजम्पमा नेपालगन्ज उपमहानगरपालिकाका अविनास थारु प्रथम, नरैनापुरका मोहम्मद मुक्तार खाँ दोस्रो र नेपालगन्जकै रमित थारु तेस्रो हुनु भयो । अविनासले १.६४ मिटर, रमित र मोहम्मदले समान १.६१ मिटर जम्प गरेपनि फाउलको आधारमा रमित दोस्रो हुनु भएको एथ्लेटिक्सका पुर्व राष्ट्रिय प्रशिक्षक चन्द्र गुरुङले बताउनु भयो ।
छात्रा तर्फको हाइजम्पमा राप्तीसोनारीकी कृति कुमारी थारु पहिलो, बैजनाथकी करिना वली दोस्रो र बैजनाथकै विमला थारु तेस्रो हुनु भयो । कृतिले १.२६ मिटर, करिताले १.२३ मिटर र विमलाले पनि १.२३ मिटर जम्प गर्नु भएको थियो । तर कम फाउल गरेका कारण करिनाले दोस्रो स्थान हासिल गर्नु भएको थियो ।
छात्र तर्फको ४ गुणा ४ सय मिटर रिले दौड ३.४२ मिनेटमा पुरा गरेको कोहलपुर पहिलो भएको छ । कोहलपुरको टिमबाट प्रशान्त सुनार, करण सिकर्मी, बिपिन बुढाथोकी र अर्जुन रोकायले दौडनु भयो । दोस्रो भएको बैजनाथले ३.५० मिनेटमा दौड पुरा गरेको थियो । बैजनाथबाट दिपश परियार, हरिस कुमार बोहरा, भुपेन्द्र वली र दिपेश बुढाथोकीले दौडनु भएको थियो । तेस्रो स्थानमा रहेको नेपालगन्ज उपमहानगरपालिकाले ३.५३ मिनेटमा दौड पार गरेको थियो । नेपालगन्जको टिमबाट समिर थारु, बसन्त माझी, अविनाश थारु, उत्सव रखाली मगरले दौडनु भएको थियो । ३.५४ मिनेट सहित खजुराको टिम चौथो भयो । खजुराबाट धिरज दर्नाल, शंकर सुनार, प्रशान्त गुरुङ र रमित खत्रीले दौडनु भएको थियो ।
छात्रा तर्फको ४ गुणा ४ सय मिटर रिले दौड ४.४५ मिनेटमा पार गर्दै नेपालगन्ज पहिलो, एक सेकेन्डले पछि पदैं (४.५५ मिनेट) राप्तीसोनारी दोस्रो र ४.५९ मिनेटमा समय खर्चेको कोहलपुरको टिम तेस्रो भयो । स्वर्ण जितेको नेपालगन्ज टिमबाट आरुषि भट्टराई, आन्देवी महतारा, स्वस्तिका शाही र करिष्मा खड्काले दोडनु भएको थियो । दोस्रो भएको राप्तीसोनारीबाट अनुजा थारु, कृति परियार, दिपा थारु र कृति कुमारी थारुले दौडनु भएको थियो भने तेस्रो भएको कोहलपुरको तर्फबाट शिला कुमारी चौधरी, जागृति थापा, सुबेरा मल्ल र सलिना थारुले भाग लिनु भएको थियो । यसैगरी सटपटमा खजुराकी काजोल विक प्रथम र कोहलपुरका कमल गणेश धाम प्रथम हुुनु भएको थियो ।
बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता वैशाख २८ देखि ३० गते सम्म चल्नेछ । प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको सहभागिता रहेको आयोजक बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले जानकारी गराउनु भयो ।
राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगितामा भलिबल, एथ्लेटिक्स, कबड्डी, कराते, तेक्वान्दो, उसु खेल समावेश गरिएको छ । बाँके जिल्ला स्तरीय १७औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको विजेता खेलाडीहरुले लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् ।
प्रदेश स्तरीय प्रतियोगिता जेठ १ देखि ३ गते सम्म दाङमा संचालन हुनेछ । प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा छनोट भएका खेलाडीले काठमाडौैमा जेठ ६ देखि ८ गते सम्म सहभागिता जनाउने छन् ।