पुर्व राजा ज्ञानेन्द्र आइपुगे नेपालगन्ज
Saturday, April 29th, 2023, 4:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ वैशाख
पुर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार साझ नेपालगन्ज आइपुगेका छन् । करिब एक महिनाको निजि भ्रमणमा निस्किएका राजा ज्ञानेन्द्रलाई नेपालगन्ज विमानस्थलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवम सांसद डा. धवल शम्सेर राणा लगायतका नेताले स्वागत गरेका थिए । राजा ज्ञानेन्द्रले नेपालगन्जमा बसेर विभिन्न जिल्लाको भ्रमण गर्नेछन् । पुर्व राजा ज्ञानेन्द्रले सोमबार नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागिता जनाउने कार्यतालिका रहेको राप्रपाका सह–महामन्त्री ऋषीराज देवकोटाले बताए । आगामी बुधबार ज्ञानेन्द्रको नेपालगन्जमा नागरिक अभिन्नदन कार्यक्रम रहेको छ । पुर्वराज ज्ञानेन्द्रसँगै उनकी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा पनि नेपालगन्ज आएका छन् ।
पुर्व राजाको नेपालगन्ज भ्रमणलाई भव्य बनाउन विभिन्न समिति बनाएर राप्रपा र हिन्दुवादी नेताहरुले काम गरिरहेका छन् । नेपालगन्जमा नागरिक अभिनन्दन ग्रहण पछि पुर्व राजाले यहिँबाट देशबासीका नाममा सम्बोधन गर्ने कुरा छ । त्यसका अलावा साविकका मध्य तथा सुदुरपश्चिम विकास क्षेत्रका विभिन्न स्थानहरुमा भ्रमण तथा भेटघाट कार्यक्रम रहेको छ । ‘नागरिक अभिनन्दन’ लगायतको अन्य कार्यक्रमहरुको व्यवस्थापनबारे आवश्यक छलफल गर्नका लागि गत सोमबार पुर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमिल्सिना नेपालगन्ज आएका थिए ।
विभिन्न समूहसँग छुटाछुट्टै र समूहगत भेटघाट गरेका तिमिल्सिनाले बैशाख १६ गतेदेखि नै झण्डै एक महिनाका लागि होटल सोल्टीमा पूर्व राजाको परिवार सहित कर्मचारीहरुको बस्ने व्यवस्था मिलाएका छन् । राजतन्त्रका पक्षधरहरूले डाक्टर धवल समशेर राणाको संयोजकत्वमा ‘नागरिक अभिनन्दन मूल समारोह समिति’ घोषणा समेत गरेका छन् । १७ गते जुम्ला तथा १८ गते नेपालगन्जको बागेश्वरी मन्दिरमा हुने महाआरतिमा सरिक हुने र २० गते नागरिक अभिनन्दन गरिने कार्यक्रमहरु तय भैसकेको बताउँछिन् नेपालगन्ज उद्योग वाणिज्य संघ सदस्य एवम समाजसेवी विन्दु चर्तिमगर ।
उनका अनुसार पुर्व राजपरिवार सम्मिलित हुने सम्पुर्ण कार्यक्रमहरु व्यवस्थापनका लागि राणाको संयोजकत्वमा ११ उप–समितिको गठन भएको छ । जसमा स्वागत उप–समिति, मन्च व्यवस्थापन उप–समिति, प्रचारप्रसार उप–समिति, आर्थिक व्यवस्थापन उप–समिति, संघसंस्था समन्वय तथा व्यवस्थापन उप–समिति, धार्मिक समन्वय उप–समिति, स्वास्थ समन्वय उप–समिति, यातायात व्यवस्थापन उप–समिति, स्वयम् सेवक तथा सुरक्षा उप–समिति र अनुगमन उप–समिति गठन गरिएको छ ।
कम्तीमा १ लाख नागरिकले राजालाई नेपालगन्जमा अभिनन्दन गर्ने गरी तयारी अगाडि बढाइएको छ । विभिन्न स्थानहरुमा भ्रमण तथा कार्यक्रमहरु तय गरिएपनि पुर्वराजा ज्ञानेन्द्र नेपालगन्जलाई मुकाम बनाएर करिब एक महिना यहिँ बस्ने बताईएको छ । उनको भ्रमणलाई नितान्त निजी भनिएपनि यसलाई राजावादीहरुले कुटनितिक रुपमा प्रयोग गर्दै आएका छन् । नेपालमा हिन्दु राज्य र राजसंस्था पुर्नस्थापना गर्ने अभियानमा राजा ज्ञानेन्द्रको नेपालगन्ज भ्रमणले थप सहयोग गर्ने राजावादी नेताहरु बताउँछन् ।