एसीसी प्रिमियर कप : फाइनलमा नेपाल र युएई भिड्ने
Saturday, April 29th, 2023, 5:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १६ बैशाख
आयोजक नेपाल एसीसी प्रिमियर कप पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको हो । भारी वर्षाको कारण नेपाल र कुवेतबीचको खेल रद्द भएको हो । खेल रद्द भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल पुगेको हो । अब नेपालले फाइनलमा युएईसँग खेल्नेछ । युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो ।
वर्षाले खेल रोकिनु अघि ८ ओभर २ बलमा कुवेतले ६ विकेट गुमाएर ३७ रन जोडेको थियो । नेपालका करण केसीले ५ र सोमपाल कामीले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । वर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए । १० दशमलब ५ ओभरमा ७७ रन बनाएको अवस्थामा विकेट गुमाएको थिएन ।
लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो । आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए ।
कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३÷३ तथा सयद मोनिव र यासिन पटेलले समान १-१ विकेट लिए ।