खजुरा गाउँपालिकाद्वारा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण फारम सुरु
Saturday, April 29th, 2023, 5:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १६ बैशाख
खजुरा गाउँपालिकाको कार्यालायले नागरिकप्रतिको सेवा प्रवाहलाई प्रभाबकारी बनाउन गुगल फरमेटबाट नागरिक सेवा प्रवाहको सन्तुष्टि सर्बेक्षण गरि सेवा प्रवाहमा आवस्यक सुधारको योजना बनाएको छ । खजुरा गाउँपालिकाले कार्यालयमा आउने सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण फारम सुरु गरेको छ । कार्यालयको सार्वजनिक सेवा प्रवाहको अवस्था बारेमा जानकारी लिने उद्देश्यले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले कार्यालयको सेवालाई प्रभावकारी बनाउन सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण फारम सुरु गरिएको बताए । उनका अनुसार यस कार्यबाट सेवाग्राहीमैत्री कार्यसम्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ । गाउँपालिकाले सेवाग्राहीको सन्तुष्टि मापन गर्न थालेको हो । सर्वेक्षणमा महत्तवपूर्ण ११ वटा विषयलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले सर्वेक्षण फाराममा सेवा प्राप्त गर्दाको सहजीकरण शैली, सेवाका लागि लागेको समय, कर्मचारीले गरेको व्यवहारको जवाफ लिने ,त्यसैगरी सेवा प्रवाहमा कर्मचारीले दिने आवश्यक सूचनाको स्पष्टता, सेवा प्रक्रिया र समग्रमा सेवा कस्तो रह्यो भन्ने विषयमा पनि सुझाव लिने बताए । कार्यालयको सेवा प्रवाह थप सुधारका लागि मौलिक सुझाव पनि दिन सकिने व्यवस्था रहेको जानकारी दिए । सेवाग्राहीको सन्तुष्टि मापनबाट पृष्ठ पोषणसहित सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको अध्यक्ष विकले बताए ।
सर्वेक्षणले सेवा प्रवाहको स्तर मापन गर्नेछ । प्राप्त सुझावका आधारमा सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउन सकिने कार्यालयको विश्वास छ । सेवाग्राहीको सुझावलाई कार्यसम्पादनको मार्गदर्शन बनाइने गाउँपालिकाले जनाएको छ । सेवाग्राही सन्तुष्टि सर्वेक्षण गर्ने कार्यले सुशासनको प्रत्याभूतिमा समेत सघाउ पुग्ने बताइको छ ।