ट्रेड युनियन कांग्रेस बाँकेको अधिवेशन हुँदैं, उप–सभापति धनराज गुरुङ प्रमुख अतिथिको रुपमा आउने
Sunday, April 30th, 2023, 1:16 pm Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ वैशाख
नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले श्रमिक दिवसको अवसर पारेर सोमबार जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । विश्वभरका श्रमिकहरुको महान पर्वको रुपमा रहेको अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपालगन्जमा हुन लागेको जिल्ला अधिवेशन गर्ने तयारी पुरा भएको आयोजकले बताएको छ ।
१ सय ३४औं अन्तराष्ट्रिय श्रमिक दिवस(मे १) को अवसर पारेर ‘सामाजिक न्याय विना शान्ति’ हुँदैन भन्ने नाराका साथ हुन लागेको अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ प्रमुख अतिथिका रुपमा सहभागि हुँदैछन् ।
सोमबार जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने जिल्ला सम्मेलनमा २ सय ७५ जना प्रतिनिधिहरुको सहभागिता रहने नेपाल ट्रेड युनियन कांग्रेस बाँके अध्यक्ष राम बहादुर मल्लले बताए । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेमा विभिन्न २३ वटा संघहरु सदस्यको रुपमा आवद्ध रहेका छन् । सोमबार हुने जिल्ला सम्मेलनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका उच्च स्तरका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका उप–सभापति संघीय सांसद धनराज गुरुङसँगै नेपाली कांग्रेसका सह–महामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौंर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द पोखरेल, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष पुष्कर आर्चाय, नेपाली कांग्रेस बाँके सभापति नारायण गौडेल लगायतको नेताहरुको उपस्थिती रहनेछ ।
विहान ९ बजे देखि सुरु हुने उद्घाटन समारोहमा बाँकेका ८ स्थानीय तहका ट्रेड युनियन कांग्रेस प्रतिनिधि र ट्रेड युनियन कांग्रेस बाँकेमा आवद्ध २३ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष राम बहादुर मल्लले बताए ।
उद्घाटन समारोह पश्चात बन्द सत्रमा सचिवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
उद्घाटन समारोहमा ट्रेड युनियन कांग्रेस बाँकेको संस्थागत विकासमा योगदान गर्ने र श्रमिकको हक, हितमा काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति बाँके अध्यक्ष राम बहादुर मल्लले जानकारी गराए ।