प्रेस चौतारी बाँकेको १५ औं साधारणसभा सम्पन्न
Sunday, April 30th, 2023, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ बैशाख
प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । ‘समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म’ भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताए । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश बार्षिक साधारणसभा गर्दै आएको बताउदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई सांगठित बनाउन आवश्यक रहेको उनले औल्याय ।
प्रगतिशील पत्रकारहरूको साझा संस्था प्रेस चौतारीको आफ्नै महत्वपूर्ण इतिहास रहेको बताउदै उनले भने,–‘प्रेस चौतारीमा अव्वल र सक्षम पत्रकारले मात्र सदस्यता प्राप्त गर्ने वातावरण बनाउन आवश्यक छ ।’
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि गैरपत्रकारलाई सदस्यता बितरण नगर्न आग्रह गर्दै पत्रकारिता क्षेत्रको समयसापेक्ष विकास हुनुपर्नेमा जोड दिए । विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आफु निकट संगठनको हकहितका लागि पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले संगठनलाई बलियो बनाउनलाई पहिले संगठनमा आवद्ध सदस्यहरु स्वंम सक्षम र क्रियाशिल हुनुपर्नेमा जोड दिए । महासचिव लामाले पत्रकारिता क्षेत्रले समयसापेक्ष प्रविधि र आम पाठक स्रोताको आवश्यकता अनुसार विषय वस्तुहरुलाई उठान गर्नुपर्ने बताए ।
प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा लम्बिनी प्रदेशका इन्चार्ज प्रदिप आचार्यले प्रेस चौतारी बाँके शाखाले संघसंस्थाहरुसंग सहकार्य गरि बिभिन्न कार्यक्रम गरेर संगठनको अक्षयकोषलाई बलियो बनाउन सुझाब दिए । जिल्लागत संगठनहरुले आर्थिक रुपमा बलियो भए मात्र संगठन चलायमान हुने उनले बताए ।
प्रेस चौतारी बाँकेको १५औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै चौतारीका केन्द्रीय अध्यक्ष बस्नेत, महासचिव हिरामान लामा, सचिब प्रदिप आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी लुम्विनी प्रदेश महासचिव निरा गौतम नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य अव्दुल वाहिद मन्सुरी चुन्ना, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका बाँके अध्यक्ष राजेश आचार्य तथा प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य तिलक गाउँले लगायतले सो कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सोहि अवसरमा संगठन सुदृढिकरमा महत्वपुर्ण भुमिका खेलेको भन्दै पत्रकार लियाकत अलि, गणेश जिसि, जिएम यादव, सृजना आचर्य, गोपिन्द्र बुढा र झलक गैरे गरि छ, जनालाई कदरपत्र सहित सम्मान गरिएको थियो । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल डाँगीले सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष ज्याउल मुस्ताफा कादरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
१० बुँदे घोषणपत्र जारी
सो साधारण सभाले १० बुँदे घोषणपत्र जारी गरेको छ । सो साधारणसभाले पत्रकारिताक्षेत्रको बृहत्तरहित र संगठन सुदृढीकरणका बिषयमा गहन छलफल गरि १० बुँदे घोषणापत्र जारी गरेको हो ।
सो घोषणपत्रमा नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि जारी गरेको कार्यविधिलाई स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि जोडदार माग गरिएको छ । आमसन्चारको विकास हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गर्दै प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंग समन्वय र सहकार्य गर्न आग्रह गरेको छ । साथै, प्रेस तथा सन्चारक्षेत्रका नाममा गरिएका लगानी पारदर्शी र विधिसम्मत गर्न आह्वान गरेको छ ।
सन्चारमाध्यमको हितका लागि नियमित लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणका लागि आह्वान गर्दै पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महांसघ र सम्बद्ध निकायहरूलाई श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
साथै सो घोषणापत्रमा नेपाल पत्रकार महांसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न ध्यानाकर्षण गराउँदै कथमकदाचित ध्यानाकर्षण विरुद्व कुनै कार्य हुन गए प्रतिरोधमा उत्रन बाध्य हुने चेतावनी दिईएको छ । यसैगरि प्रेस तथा स्वतन्त्रता विरुद्व धावा बोल्ने, विभिन्न नाममा जनताले प्राप्त गरेको अधिकार उल्टाउने पक्षसंग सदैब सचेत र सजग पत्रकार एवं आम जनसमुदायमा अपिल गरेको छ ।
पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण ब्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न भन्दै क्षमातावान महिलाहरुलाइई सन्चारगृह, पेशागत संघ संगठन, पत्रकार महासंघ लगायतका स्थानहरूमा क्षमता अनुसारको उपयुक्त जिम्मेवारी प्रदान गर्न सम्पूर्ण संघसंगठनका अध्यक्ष तथा सम्पादक÷प्रकाशकहरुमा आह्वान गरेको छ ।