भवानी राणालाई ‘एसियन म्यागनम अवार्ड’
Sunday, April 30th, 2023, 9:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ बैशाख
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणालाई वल्र्ड बुक अफ रेकर्डले एसियन म्यागनम अवार्ड २०२३ बाट सम्मानित गरेको छ । भारतको इन्दोरमा शनिबार आयोजित एक कार्यक्रममा राणालाई यस्तो सम्मान गरिएको हो । शनिबार राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायी सहित ‘विजनेश मिट’ पनि सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले खाद्यान्न प्रशोधन, रासायनिक मल लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना राम्रो रहेको बताएकी छिन् ।
मध्य प्रदेशको इन्दोरमा साउथ एसिया चेम्बर अफ कमर्शले गरेको छलफल कार्यक्रममा उनले सो धारणा राखेकी हुन् । ‘जनसंख्याको हिसाबले पनि खाद्यान्न प्रशोधन उद्योगको सम्भावना राम्रो छ । त्यो वाहेक पनि नेपालमा विजुली सहज बन्दै गएकोले रासायनिक मल उद्योग लगाउँदा राम्रो प्रतिफल पाइन्छ,’ उनले भनिन्, ‘नेपालमा रासायनिक मलको चर्को अभाव छ । त्यसैले एउटा उद्योग लगाएमा बजारको समस्या पनि हुँदैन ।’
राणाले नेपालमा धेरै जडीबुटी पाइने बताउँदै जडीबुटीसँग सम्वन्धित उद्योगहरुबाट पनि राम्रो प्रतिफल पाइने बताईन् । उनले नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्नुपर्ने पनि धारणा राखिन् । नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडिबुटी, ठूला पूर्वाधार निर्माण सामाग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा विजनेस मिट केन्द्रीत रह्यो । राणाले विजनेस मिटको प्रमुख अध्यक्षता गरेकी थिइन् ।