ट्रेड युनियन कांग्रेस अध्यक्षमा राम बहादुर मल्ल निर्विरोध निर्वाचत
Monday, May 1st, 2023, 7:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ वैशाख
राम बहादुर मल्लको अध्यक्षतामा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । सोमबार नेपालगन्जमा भएको नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको सातौं जिल्ला अधिवेशनबाट चार वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कार्य समितिको खुला उपाध्यक्षमा तोजिन्द्र बहादुर विक, महिला उपाध्यक्षमा पवित्रा ढकाल, उपाध्यक्ष अनोपचारिकमा परिमल विष्ट, उपाध्यक्ष उत्पादनमा महेन्द्र विक, उपाध्यक्ष सेवा तर्फ दिपक राज वली, सचिव शिवध्वज शाही, सह–सचिवमा चेत नारायण शर्मा र नारायण शर्मा, कोषाध्यक्षमा नरेश बाबु श्रेष्ठ, सह–कोषाध्यक्षमा अमृता शाही निर्विरोध निर्वाचित भए ।

…………
यसैगरी कार्यसमितिको महिला सदस्य तर्फ जानकी सापकोटा, पुष्पा सुनार, सुनिता सिंह, बिमला दास, खुसल्ला सदस्यमा मोहन देवकोटा, माधव वर्नवाल, धने थापा, संजय कुमारी द्धिवेदी र शिवराज आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि मल्लले नेपाली कांग्रेसको राजनितिको इतिहाससँग जोडिएको ट्रेड युनियनले कांग्रेसको गरिमालाई उच्च बनाउने काम गर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेसको गर्विलो इतिहासमा ट्रेड युनियनको योगदान महत्वपुर्ण छ । यसले आम मजदुरको हक हितको वकालत गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउन योगदान दिइरहेको छ । ट्रेड युनियनले रिक्सा चालक, दैनिक ज्याला गर्ने देखि लिएर विभिन्न क्षेत्रमा काम गरिरहेका आम श्रमिकहरुको हक हित र अधिकारलाई स्थापित गराउने लक्ष्य साथ काम गर्नेछ ।’
कांग्रेसको नेतृत्वमा बनेको सामाजिक सुरक्षा कोषलाई कार्यान्वनयको दिशामा लग्न ट्रेड युनियन कांग्रेसले महत्वपुर्ण भुमिका खेलेको भन्दैं अध्यक्ष मल्लले राज्यको नेतृत्व गर्नेहरुले श्रमिकको सम्मान गर्नु पर्ने उनले बताए । उनले थपे,‘नेपालको हरेक राजनितिक परिवर्तनमा नेपाल ट्रेड युनियन कांग्रेस सरिक हुन्छ । तर नेतृत्वमा पुगेपछि श्रमिकको अभिकार र सुरक्षामा राज्यले चासो नदिएको आभास हामीले गरेका छौं । यसका निम्ति हामी सधै आवाज उठाउँछौं ।’
१ सय ३४औं अन्तराष्ट्रिय श्रमिक दिवस(मे १) को अवसर पारेर ‘सामाजिक न्याय विना शान्ति’ हुँदैन भन्ने नाराका साथ भएको अधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङ प्रमुख अतिथिका रुपमा सहभागि भएका थिए ।
उद्घाटन सत्रमा नेपाली कांग्रेसका उप–सभापति संघीय सांसद धनराज गुरुङसँगै नेपाली कांग्रेसका सह–महामन्त्री एवम् संघीय सांसद किशोर सिंह राठौंर, नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोविन्द पोखरेल, राष्ट्रिय सभा सदस्य एवम बाँके कांग्रेसका पुर्व पार्टी सभापति युवराज शर्मा, नेपाली कांग्रेस बाँके सभापति नारायण प्रसाद गौडेल, पुर्व पार्टी सभापति एवम पुर्व मन्त्री गजेन्द्र हमाल, निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, माया पुन, संविधान सभा सदस्य भोला सिद्धिकी, बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश गुप्ता, १ नम्बर क्षेत्रीय सभापति पोषण केसी लगायतले शुभकामना मन्त्वय राखेका थिए भने कार्यक्रमको संचालन नवनिर्वाचित नेपाल ट्रेड युनियन कांग्रेस बाँके उपाध्यक्ष तोजिन्द्र विकले गरेका थिए ।
जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने जिल्ला सम्मेलनमा २ सय ७५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । नेपाल ट्रेड युनियन कांग्रेस बाँकेमा विभिन्न २३ वटा संघहरु सदस्यको रुपमा आवद्ध रहेका छन् । उद्घाटन समारोहका अवसरमा आयोजकले संगठनका पुर्व अध्यक्ष र सहयोगीदाताहरुलाई सम्मान गरेको थियो ।