कोहलपुरमा मनाईयो श्रमिक दिवस
Monday, May 1st, 2023, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १८ बैशाख
अन्तर्राष्ट्रिय श्रमिक दिवस कोहलपुरमा पनि मनाईएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेकपा मसालले एक सय ३४औ अन्तराष्ट्रिय दिवस मनाएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित सो कार्यक्रममा बोल्दै मुख्य वक्ता राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै देशको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकप्रति सम्मान प्रकट गरेका थिए ।
उनले अवका दिनमा सर्वहारा वर्गको अधिनायकत्व गरेर समाजवादी व्यवस्था लागु गर्नका लागि अव कम्युनिष्ट आन्दोलनलाई संगठित रुपमा अघि लैजान आवश्यक रहेको बताएका थिए ।
कम्युनिष्टका नाममा माओवादी र एमाले पार्टीहरुले देशलाई अधोगतितिर लगेको दावि गर्दै उनले भने,–‘हामी कहाँ छौं । श्रमिक वर्ग कहाँ छ ? यो कुरा हामीले मनन गर्न जरुरी छ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी आज कहाँ आएर श्रमिक तथा सर्वहारा वर्गलाई धोका दिएको छ ।’
यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताका सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय जनमोर्चाका लुम्विनी प्रदेश सदस्य लोक बहादुर राना, अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष भिम प्रसाद देवकोटा, अखिल नेपाल किसान महासंघका केन्द्रिय महासचिव तुलसीराम सापकोटा लगायतले विश्वरभरिका श्रमिकको ऐक्यबद्वता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्न आवश्यक रहेको बताएका थिए ।