‘न्यायालयका नकारात्मक कुराहरुको अन्त्य गछौं’
Saturday, June 3rd, 2023, 9:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० जेठ
नेपालगन्ज उच्च अदालत बार एशोसियशनको निर्वाचनमा अध्यक्ष चित्र बहादुर शाही सहित प्यानल विजयी भएको छ । उच्च अदालत बार एशोसियशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी पेशागत कानुन व्यवसायी समुहको प्यानल नै विजयी भएको हो ।
निर्वाचनमा चित्र बहादुर शाही, भुवन कृष्ण श्रेष्ठ र चित्र बहादुर केसीले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । १ सय ४५ मत ल्याएका नवनिर्वाचित शाहीका निकटतम प्रतिद्वन्द्वी केसीले २८ मत ल्याएका थिए भने श्रेष्ठले ४ मत प्राप्त गरे ।
उच्च अदालत बार एशोसियशनको उपाध्यक्षमा २५ मत ल्याएका ओम प्रसाद मानन्धरलाई १ सय १ मत ल्याएर हराउदै तिर्थराज ज्ञवाली विजयी भएका छन् । सचिवमा भने गणेश प्रसाद शर्मा विजयी भएका छन् । उनले आफ्ना निकटम प्रतिद्वन्द्वी कुम्भराज मिश्रलाई हराएका हुन् । शर्माले १ सय ४५ मत प्राप्त गरेका थिए भने, मिश्रले ३१ मत पाएका थिए ।
एशोसियशनको सदस्यहरुमा सतीषचन्द्र थारु, हिरा बहादुर श्रेष्ठ, पूर्ण प्रसाद ढकाल, रिजवान अहमद मिर्जा, हरिश्चन्द्र सिजापति, विरेन्द्र कुमार वस्नेत र जयराम थारु विजयी भएका छन् ।
निर्वाचन प्रक्रिया लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै निर्वाचित अध्यक्ष शाहीलेआफुलाई मत दिने नदिनेसबैलाई धन्यवाद दिए । साथै उनले व्यवसायीकता सँगसँगै न्यायपालिकाका सवालमा र मानवअधिकारका सवालमा सम्पुर्ण टिम एक भएर अघि बढ्ने बताए । अबका दिनमा अदालतमा भएका विकृति र विसंगतिका सवालमा सबैको भावना समेटेर सहकार्य गर्दै तिनको अन्त्य गर्न आफु लागिपर्नेमा जोड दिए ।
आम जनताको न्यायलयप्रतिको दृष्टिकोणबारे कुरा गर्दै उनले भने, ‘न्यायलयप्रतिको जनताको घट्दो विश्वसनियता भनेको न्यायलयमा बढ्दो राजनितिक चलखेल र उपस्थिति नै हो । हामीले सबैभन्दा पहिला न्यायिक प्रक्रियामा राजनितिक दबाब आउन नदिने भनेका छौं । सगसँगै राजनितिक अस्थिरता र त्यसले न्यालयमा पारेको नकारात्मक प्रभावको कुराले आम जनताले न्यायलय प्रति विश्वास गर्न नसकेको अवस्थता हो । अवको हाम्रो प्राथमिकता न्यायालय भित्र रहेका यिनै नकारात्मक कुराहरुको अन्त्य गर्ने काम हुने छ ।’
उच्च अदालत बार एशोसियशन बाँके जिल्लाकै नेतृत्वदायी भुमिका गर्ने संस्था भएको भन्दै अध्यक्ष शाहीले भने,–‘सर्वसाधरणको पहुँचमा कसरी न्याय पु¥याउन सकिन्छ, भन्ने कुरामा हाम्रो भुमिका रहन्छ । साथै हामी भित्रै भएका कमीकमजोरी कसरी घटाउन सकिन्छ, र हामीप्रती जनआस्था कसरी बढाउन सकिन्छ भन्ने कुरामा हामी निक्कै तत्परताका साथ लाग्ने छौं ।’