नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित कर अधिकृत पक्राउ
Monday, September 11th, 2023, 1:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ भदौ
श्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगन्ज विमानस्थलबाट एकजना सरकारी कर्मचारी पक्राउ परेका छन् । दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन् ।
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । कर अधिकृत सापकोटाको साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएका छन् ।
सोमबार बिहान श्री एयरलाइन्सको उडानबाट उक्त रकम लिएर सापकोटा नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा पक्राउ परेको प्रवक्ता डाँगीले बताए ।
त्यसैगरी सापकोटालाई बाँके प्रहरीले नगदसहित अख्तियार समक्ष बुझाएको छ । बरामद भएको नगद रुपैयाँको श्रोत उनले खुलाउन नसकेपछि प्रहरीले उनलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जमा बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवम प्रवक्ता नारायण डाँगीले रकमको श्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई आवश्यक कारबाहीका लागि अख्तियारमा बुझाइएको जानकारी दिए । उनले भने, ‘बरामद गरेको रुपैयाँको श्रोत खुलाउनुस् भनेर हामीले भन्यौ, तर उहाँले खुलाउन सक्नु भएको छ, आवश्यक कारबाहीका लागि हामीले अख्तियारमा बुझायौं ।’
उनिहरु बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेका थिए । विमानस्थलबाट फरार भएका अर्का कर अधिकृत दीपक पौडेल पनि सापकोटासँगै अनुगमनमा गएका थिए ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाईंका अनुसार कर अधिकृतद्वय सापकोटा र पौडेल चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएका थिए ।
पहाडी जिल्लाको अनुगमनबाट आइसकेपछि आफूहरूलाई धपेडी भएको भन्दै उनीहरूले घर बिदामा जान अनुरोध गरेका थिए । उनीहरू दुबै जना पाँच महिनाअघि सरूवा भएर कर कार्यालय तुलसीपुरमा आएका थिए ।