कोहोलपुरमा भ्यूटावर संचालन गर्न सकस
Monday, September 11th, 2023, 2:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २५ भदौ
दुई वर्ष अगाडि लुम्बिनी प्रदेशमा एक पछि अर्को भ्यूटावर निर्माणको उद्घाटनको होड चल्यो । ती भ्यूटावर उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत दौडादौड गरे ।
हतारमा लगानी गर्दा अहिले धरै भ्यूटावर संचालनको लागि सकस देखिएको छ । यसको उदाहरणको रूपमा कोहलपुर नगरपालिकाले निर्माण गरेको लिफ्टसहितको भ्यूटावर संचालनका लागि पटक पटक टेन्डर गर्दा पनि नपर्नुलाई लिन सकिन्छ ।
बाँकेको कोहलपुर नगरपालिकाले बनाएको घण्टाघर सहितको १० तले भ्यूटावर अझै संचालनमा आएको छैन । कोहलपुर नगरपालिकाले २०७६ सालदेखि नै बनाउन सुरु गरेको घण्टाघर सहितको १० तले भ्यूटावर निर्माण सम्पन्न भएको छ । ठेकेदार कम्पनीले केही महिना स्थानीय तहलाई संचालन गर्न दिएपनि चलाउन सकस भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि भनेर झन्डै ७ करोड रुपैयाँको लागतमा लिफ्टसहितको भ्यूटावर संचालनका लागि टेन्डर गर्दा टेन्डर पर्न सकेको छैन । यो भ्यू टावर निर्माण गर्दा नै गलत ठाउँमा परेकोले पर्यटक तान्ने सम्भावना कमै छ ।
कोहलपुरका नगरप्रमुख पूर्णप्रसाद आचार्यले त्यो बेला भ्यूटावर निर्माण सुरुवात गर्दा गलत ठाउँमा भएकाले पर्यटकहरूको चहल पहल नभएको बताए । उनले भने, ‘हामीले निजी क्षेत्रलाई ठेक्का दिएर चलाउने खोजेका छौ । तर, पटक पटक टेन्डर निकाल्दा पनि ठेक्का परेको छैन ।’
नगरप्रमुख पूर्णप्रसाद आचार्यले मासिक दुई लाख रुपैयाँ निजी क्षेत्रमा सञ्चालन गर्ने दिने विज्ञापन दुई पटक खोले पनि कसैले ठेक्का नलगाएको बताउँछन् । अव एकपटक पुनः सूचना निकाल्ने, नभए कार्यपालिको बैठक बसालेर ठेक्का दररेट घटाउने मनसायमा नगरपालिका छ ।