संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन
Tuesday, September 12th, 2023, 1:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, २६ भदौ
संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको हो । काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो ।
उनि घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए । नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो । बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ । अन्त्येष्टिको दिन सार्वजनिक बिदा हुनेछ । इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए । उनी इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए ।
२०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए । २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए । पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । २०५१ सालमा न्याय, कानुन तथा संसदीय मन्त्री बनेका नेम्वाङ २०५६ सालमा लेखा समिति सभापति बनेका थिए । उनकै कार्यकालबाट संसदीय समितिमा पत्रकारलाई प्रवेश दिन सुरू भएको हो ।
स्नातक अध्ययनका क्रममा २०२८÷२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए । २०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन् ।
पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक–पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए । वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङले केही समय नेपाल ल क्याम्पसमा पढाएका थिए।
प्रध्यापन, कानुन व्यवसाय र राजनीतिलाई एकसाथ अघि बढाएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिव समेत हुन् । पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत समन्वयकारी भूमिका खेल्न सक्ने नेम्वाङ स्वच्छ र इमान्दार छवि भएका नेता थिए। शालीन स्वभावका नेम्वाङले आफूलाई भेट्न चाहानेहरूसँग सहज पहुँचमा रहन्थे।