डोल्पामा भेटियो शव, गुल्मपति पण्डितको हुन सक्ने आशंका
Tuesday, September 12th, 2023, 7:05 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
डोल्पा, २६ भदौ
डोल्पामा मंगलबार एक जनाको शव फेला परेको छ । उक्त शव १६ दिनदेखि हराइरहेका डोल्पाका गुल्मपति मेजर विमल पण्डितको हुन सक्ने आशंका गरिएको छ । शव त्रिपुरासुन्दरी नगरपालिकामै पर्ने खदाङ भन्ने ठाउँमा भेटिएको प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । मंगलबार बिहानै स्थानीयले शव फेला परेको जानकारी दिएका थिए ।
लगत्तै जिल्ला प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीको नेतृत्वमा टोली परिचालन गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । ‘उहाँको बुवा ब्यारेकमा हुनुहुन्छ । शव पण्डितको हो कि होइन भनेर बुवाले पहिचान गरेपछि मात्रै एकिन हुन्छ,’ डिएसपी बुढाथोकीले भने ।
नन्दबक्स गुल्मका गुल्मपति पण्डित गत भदौ १० गते अपराह्न ४ः५५ बजेदेखि सम्पर्कविहीन भएका थिए । उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ । जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए ।
‘ब्यारेक नजिकैबाट त्रिपुराकोट र त्यहाँभन्दा माथितिर पनि गाडी जान्छ । वर्षाको बेला भएकाले लामो दूरीसम्म त चल्दैन,’ डिएसपी बुढाथोकीले भने, ‘उहाँले गाडी भाडामा लिएर माथि जानु भएको रहेछ ।’ सेनानी पण्डितसँग त्यस गाडीलाई भाडा तिर्न नगद साथमा नभएको खुलेको छ । उनले चालक बस्नेतलाई ‘खाता नम्बर छ, अनलाइन पे गर्दिन्छु’ भनेका रहेछन् ।
चालकसँग बैंकको खाता नम्बर नभएकाले गाडीबाट ओर्लिएर तीन–चार वटा पसलेसँग डिजिटल भुक्तानीबारे सोधेका थिए । पसलेहरूले नभएको बताएपछि चालकले साहुसँग भेटाइदिएको अनुसन्धानबाट देखिएको छ । त्यसपछि सेनानी पण्डितले २६ हजार ५ सय रुपैयाँ खातामार्फत् ट्रान्सफर गरेको र आफूले नगद लिएका थिए । लिएको नगदमध्ये ६ हजार ५ सय गाडी भाडाबापत् भुक्तानी गरेका थिए ।
गाडीबाट ओर्लिएर एउटा पसलमा चप्पल, झोला बोकेर सम्पर्कविहीन भएको अनुसन्धानमा देखिएको जिल्ला प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए । प्रहरीले गाडी चालक बस्नेतसँग पनि सोधपुछ गरेको थियो । उसले सुरूमा सेनानी भन्ने थाहा नपाएको र गाडीमा चढेपछि पण्डित निकै हतास देखिएका थिए । गाडीमा चढेका बेला उनको दुई–तीन पटक फोन आएको थियो । सेनानी पण्डितले फोनमा बोलेको पनि ती चालकले बताएका छन् ।
उनको मोबाइलको अन्तिम लोकेशन त्रिपुराकोटमै देखिएको थियो । सेनानी पण्डितले गाडीभित्र चढेका बेला ‘जति भाडा परे पनि तिर्छ माथिसम्मै पु¥याइदेऊ’ भनेका थिए । तर, पुल नभएको र बाटो बिग्रिएकाले जान नसक्ने बताएपछि उनी त्रिपुराकोटमै उत्रिएको अनुसन्धानमा खुलेको छ । ‘उहाँको मोबाइल ७ः१५ बजेसम्म एक्टिभ देखिएको थियो । त्यसपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी प्रमुख बुढाथोकीले भने ।