एसिसी प्रिमियर कपमा नेपालको विजयी सुरूवात
Friday, April 12th, 2024, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० चैत
साविक विजेता नेपालले प्रिमियर कपमा मलेसियाविरुद्ध संघर्षपूर्ण जित हासिल गर्दै विजयी शुरूआत गरेको छ । शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा ग¥यो ।
नेपालका आशिफ शेखले सर्वाधिक ३२ रन बनाए। ३५ बल खेलेका उनले ४ चौका प्रहार गरे । कप्तान रोहितकुमार पौडेल २८, कुशल भुर्तेल २४ र दीपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा गुल्शनकुमार झा १९ र सन्दीप जोरा १२ रनमा अविजित रहे ।
मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए । मोहम्मद वाफिक र पवनदीप सिंहले १÷१ विकेट लिए । त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ २) मा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।
मलेसियाका कप्तान वीरन्दीप सिंहले अविजित रहँदै सर्वाधिक ७२ रन बनाए । ५७ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । शर्विन मुनिन्दी ४१ र मोहम्मद अमिर १६ रनमा आउट हुँदा नजमुस साकिब ३ रनमा अविजित रहे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । यस्तै, अविनाश बोहराको नाममा १ विकेट रह्यो । जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ ।