दोस्रो डम्बर रानाभाट स्मृति फुटबलको उपाधि हिमालय सामुदायिक क्लबलाई
Saturday, April 13th, 2024, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, वैशाख १ गते
आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ ले दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाँकेको खजुरा स्थित धौलागिरीमा भएको फाइनल खेलमा हिमालय सामुदायिक क्लबले जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीलाई ६–१ ले हराउँदै उपाधि जितेको हो ।
आयोजकलाई च्याम्पियन बनाउने क्रममा फाइनल खेलमा क्षितिज थापाले ४ गोल, निराजन शाही र एलेक्स रानामगरले १–१ गोल गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेको तर्फबाट मान बहादुर थारुले १ गोल गर्नु भयो ।
प्रतियोगितामा आयोजक हिमालय सामुदायिक क्लब खजुराका खेलाडी क्षितिज थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । यसैगरी क्षितिज थापाले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको पुरस्कार पनि जित्नु भयो ।
उहाँले प्रतियोगिताभर ७ गोल गर्नु भएको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिका वडा नम्बर ३ अध्यक्ष पुर्ण बहादुर भण्डारी, जानकी गाउँपालिका वडा नम्बर ५ अध्यक्ष टिकानाथ यादव, आयोजक क्लबका अध्यक्ष किरण थापालगायतले पुरस्कृत गर्नु भएको थियो ।
प्रतियोगिताको विजेता हिमालय सामुदायिक क्लबले ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र र उपविजेता जिल्ला प्रहरी कार्यालय बाँकेले ३० हजार ५सय ५५ मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बाँके जिल्ला फुटबल संघले ३ हजार १ सय रुपैयाँ प्रदान गरेको थियो ।
……..
जनयुद्धको समयमा हत्या गरिएका डम्बर रानाबाटको सम्झनामा स्थानीय युवाहरुले गत वर्षदेखि फुटबल प्रतियोगिता आयोजना गर्दै आउनु भएको छ । प्रतियोगितामा बाँके जिल्लाका १४ टिमको सहभागिता रहेको थियो । जनयुद्धमा होमिएका धौलागिरीका स्थानीय युवा डम्बर रानाभाटको जनयुद्धका क्रममा २०५८ फागुन ११ गते हत्या भएको थियो । समाजमा युवाहरुलाई प्रेरित गर्ने रानाभाटलाई सम्झनाको लागि प्रतियोगिताको आयोजना गरिएको सचिव कार्कीले बताउनु भयो ।