एकै ओभरमा दीपेन्द्रले हाने ६ छक्का
Saturday, April 13th, 2024, 7:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ बैशाख
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने विश्वकै पाँचौं खेलाडी बनेका छन् । ओमानमा जारी एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध टी–२० आईमा एकै ओभरमा ६ छक्का हाने हानेका हुन् । दीपेन्द्र टी–२० आईमा एकै ओभरमा ६ छक्का हान्ने तेस्रो र समग्र अन्तर्राष्ट्रिय क्रिकेटका पाँचौं खेलाडी बनेका छन् ।
दीपेन्द्रले ओमानको अल अमरेत क्रिकेट मैदानमा कतारका कमरान खानलाई २० औं ओभरका सबै बलमा छक्का प्रहार गरेका हुन् । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनको इनिङ खेले । उनको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
दीपेन्द्र नेपालबाट कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रले यसअघि सेप्टेम्बरमा मंगोलियाविरुद्ध टी–२० आईमा दुई फरक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेका थिए ।
उक्त खेलमा दीपेन्द्रले ९ बलमै क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्रअघि अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का हान्ने माहर्सल गिब्स, युवराज सिंह, काइरन पोलार्ड र जसकरण मलहोत्रा रहेका छन् ।
यसैगरी एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो । कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे पनि टिमको जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २÷२ तथा कुशल मल्ल र अविनाश बोहराले १÷१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।