कांग्रेसले देशको महत्वपुर्ण विषयमा एमालेसँग सहकार्य गर्नु पर्छः महामन्त्री गगन थापा
Saturday, April 13th, 2024, 8:42 pm
Kalpristha
प्रेस युनियन बाँकेको भित्तेपात्रो बिमोचन
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ बैशाख
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले देशको महत्वपुर्ण विषयलाई सम्बोधन गर्नको लागि कांग्रेसले नेकपा एमालेसँग सहकार्य गरेर अगाडी बढनु पर्ने बताउनु भएको छ ।
कांग्रेसले गठबन्धनबाट मुक्त हुने राजनिति संस्कार अगाडी बढाईसकेको बताउँदै महामन्त्री थापाले सरकार गठनको लागि नभएर देशको परिवर्तनको लागि एमालेसँगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘एमालेसँगको सहकार्य सरकार गठनको लागि होइन । देशका महत्वपुर्ण विषयका सन्दर्भमा एमालेसँग सहकार्य अगाडी बढाउनु पर्छ । एमाले नेपाली कांग्रेसको सहयात्री पनि हो । संविधान निर्माणको मुल शंक्ति पनि हो । उसँगको सम्बन्ध सहज बनाउने हो । सरकार गठनको लागि होइन । सरकार माओवादी र एमाले मिलेर चलाउनु ।’
शनिबार नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको भित्तेपात्रोको बिमोचन गर्दै महामन्त्री थापाले भन्नु भयो,‘हामीले निर्वाचन प्रणाली फेर्नु छ । संघीयताको बारेमा महत्वपुर्ण कानुन बनाउनु पर्नेछ । यो विषयमा हामीले नेकपा एमालेसँग संवाद अगाडी बढाउनु पर्छ । अर्को कुरा हामी सरकारसँग पनि मिलेर काम गर्न चाहन्छौं । संघीयता सम्बन्धमा, अर्थतन्त्र चलायन बनाउने सम्बन्धमा हामीले धेरै कानुन बनाउनु पर्नेछ । यो अप्ठायारोमा हामी सरकारसँग मिलेर काम गर्न चाहन्छौं । सरकार पनि जिम्मेवारी भएर आउनु पर्छ भन्ने हामी अपेक्षा गछौं ।’
नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार संवाद कार्यक्रमका लागि महामन्त्री सहितको संवाद यात्रा टिम शनिबार बाँके आइपुगेको छ । शनिबार महामन्त्री थापाले डुडुवा गाउँपालिकाको कम्दी स्थित मिलन चोक र नेपालगन्जको त्रिभुवनचोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । संवाद यात्राको दौरान स्थानीय जनताहरुको समस्या, गुनासो र सुझावलाई लिएर समाधान गर्ने अभियान सहित कांग्रेसले संवाद यात्राको सुरुआत गरेको हो । जस अन्तर्गत आइतबार बाँकेको खजुरामा संवाद कार्यक्रम रहेको छ भने विहान नेपालगन्जमा प्रजातान्त्रिक उद्योगी व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम रहेको छ ।
संवाद यात्राकै दौरान शनिबार पार्टी कार्यालयमा महामन्त्री गगन थापाले युनियनले प्रकाशन गरेको भित्तेपात्रोको विमोचन गर्नु भएको हो । उक्त कार्यक्रममा बोल्दैं महामन्त्री थापाले नयाँ वर्षमा आम पत्रकारहरुले पनि नयाँ संकल्प गर्नु पर्ने सुझाव दिनु भयो । ‘पे्रस स्वतन्त्रता सुरक्षित छ भनेर हामीले ठान्यो । सत्तामा भएको ब्यक्तिले प्रेसलाई दुस्मनको सम्झदो रहेछ । प्रेस स्वतन्त्रणको निम्ति नेपाल प्रेस युनियन, चौतारी, प्रेस सेन्टर सबै एक भएर आउनु पर्छ ।’
अब नयाँ वर्षमा आम पत्रकारहरुले सनसनीपुर्ण समाचार नभएर सत्य समाचार खोज्नु पर्ने महामन्त्री एवम् पुर्व मन्त्री थापाले सुझाव दिनु भयो । उहाँले भन्नु भयो,‘अब पत्रकारहरुले छुटाउनु पर्ने बेला आएको छ । सनसनीपुर्ण समाचारको पछाडी लाग्दा प्रजातन्त्रलाई कमजोर बनाउने काम गरेको छ ।’
यो वर्षलाई नेपाली कांग्रेसले पार्टीको पुर्नजागरण वर्षको रुपमा मनाउनु पर्ने थापाले बताउनु भयो । कार्यक्रममा बोल्दै थापाले भन्नु भयो,‘यो वर्ष हामीले आफैभित्र भएको शंक्तिलाई पहिचान गर्ने हो । आफनो शंक्तिलाई पहिचान गरेर माथी ल्याउन जागृत हुने हो । यो वर्ष कांस्रेसले पार्टीभित्र दुई वटा काम गर्नु पर्छ । त्यो भनेको एउटा पार्टी भित्र शुद्धिकरण र अर्को सुढृडीकरण । एउटा लोभबाट मुक्त हुनु पर्छ । त्यो लोभ भनेको सत्ताको लोभबाट मुक्त हुनु हो । २०८१ सालको वैशाख १ गते गरेको संकल्प भनेको केन्द्रिय सरकारलाई एक वर्ष सम्म निर्वाध रुपमा चल्न दिनु पर्छ । लालचबाट मुक्त हुनु पर्छ ।’
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले बाँकेमा प्रेस युनियनले पार्टी र पार्टीप्रति आस्था राख्ने प्रजातन्त्रकर्मीसँगको सम्बन्धलाई बलियो बनाउने काम गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘प्रेस स्वतन्त्रणलाई आफनो प्रमुख मुद्दाको रुपमा लिदैं पत्रकारको दक्षता र क्षमता अभिवृद्धिमा हामीले काम गरिरहेका छौं । पार्टीको सिद्धान्तलाई आम जनतासम्म लग्ने जिम्मेवारी पनि हामीले निर्वाह गरिरहेका छौं ।’
नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्वय राख्दै युनियनले गरिरहेका महत्वपुर्ण कामहरुको बारेमा बताउनु भएको थियो ।
प्रेस युनियन बाँकेका सचिव भिष्म लोधले संचालन गरेको कार्यक्रममा अतिथिको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यहरु मैकुलाल वाल्मिकी, मधु अर्याल, प्रतिभा गौतम, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन, बाँकेका कार्यवहाक सभापति गोपाल अधिकारी, प्रतिनिधि सभा सदस्य कुसुम थापा, संविधान सभा सदस्य बादशाह कुर्मी, नेपाल प्रेस युनियनको वरिष्ट उपाध्यक्ष प्रेम केसी, लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतको उपस्थिती रहेको थियो ।