एसीसी प्रिमियर कप : एक खेलअघिनै नेपाल सेमिफाइनलमा
Monday, April 15th, 2024, 3:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ बैशाख
साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो । ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समूहको शीर्ष स्थानमा रहेको नेपालको ६ अंक भएको छ ।
समूह ‘ए’ मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो । सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा ग¥यो ।
उत्कृष्ट सुरूवात दिलाएका नेपालका ओपनरद्वय आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे । आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले २० बलमा नटआउट २५ रन र सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे ।
वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भयो । हङकङका ओपनर मार्टिन कोट्जेलाई करण केसीले तेस्रो ओभरमा ८ रनमा आसिफ शेखबाट क्याच गराए । यस्तै छैटौं ओभरमा हङकङका कप्तान निजाकत खानलाई दीपेन्द्रसिंह ऐरीले १२ रनमा रनआउट गरे ।
हङकङका लागि सबैभन्दा बढी रन बनाएका अंशुमन रथ पनि रनआउटको सिकार भए । उनलाई नवौं ओभरमा नेपालका गुल्सन झाले बाउन्ड्री नजिकबाट डाइरेक्ट हिटमार्फत् ३४ रनमा रनआउट गरे । त्यसपछि हङकङका ब्याटर चल्न सकेनन् । बाबर हायतलाई ६ रन र एजात खानलाई ७ रनमा ललित राजवंशीले आउट गरे । यस्तै यसिम मुर्ताजालाई २ रन र नास्रुल्ला रानालाई ६ रनमा अभिनास बोहराले आउट गरे । यस्तै बोहराले व्यक्तिगत तेस्रो विकेट लिने क्रममा १७औं ओभरमा जीशन अलीलाई १४ रनमा दीपेन्द्रबाट क्याच गराए ।
दीपेन्द्रले १८औं ओभरको चौथो बलमा इशान खानलाई ११ रनमा बोल्ड गरे लगत्तै अर्को बलमा धनञ्जय रावलाई पनि बोल्ड गरे । बलिङमा अभिनासले ३ विकेट लिए भने ललित र दीपेन्द्रले २–२ विकेट लिए । करण केसीले १ विकेट हात पारे । अभिनासले ४ ओभरमा २९ रन खर्चिए । ललितले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र दिए । दीपेन्द्रले ५ बलमा ६ रन खर्चिए । करणले ४ ओभरमा २४ रन दिए ।
१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।
नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ । समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ ।
यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ । सन् २०२५ को एसिया कप टी–२० फर्म्याटमा हुनेछ । शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । प्रतियोगितालाई आइसिसी टी–२० विश्वकपको तयारीको रूपमा लिइएको छ । गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ ।