अब खजुरामै पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवा सुरु
Monday, April 15th, 2024, 4:51 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, वैशाख १ गते
बाँकेको खजुरा गाउँपालिकामा पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवा सुरु भएको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको नागरिक आरोग्य सेवा केन्द्रले पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवा सुरु गरेको हो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले सोमबारको पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवाको शुभारम्भ गर्नु भएको छ ।
कार्यक्रमको अवसरमा नागरिक आरोग्य सेवा केन्द्र परिसरमा निर्माण गरिएको नयाँ भवनको पनि अध्यक्ष विकले उद्घाटन गर्नु भयो । भवनको उद्घाटन गर्दै अध्यक्ष विकले पालिकाले नागरिकहरुको स्वास्थ्य अवस्थालाई सुधार गर्न गाउँगाउँमा गएर स्वास्थ्य शिविर संचालन गर्ने, स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीहरुलाई आयुर्वेद सम्बन्धी जनचेतना दिने काम गरिरहेको बताउनु भयो ।
आयुर्वेद सेवाको महत्व अहिले बढदै गएको बताउँदैं अध्यक्ष विकले स्थानीय स्तरमा उत्पादन भएका जडीबुटीलाई उपचारमा प्रयोग गर्नमा सबैले ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले भन्नु,‘आयुर्वेद अहिलेको परिवेशमा निकै महत्वपुर्ण छ । आयुर्वेद शाखा मार्फत खजुराले आयुर्वेदलाई अगाडी बढाएको छ । त्यसको लागि सबैको साथ र सहयोग आवश्यक पर्छ ।’
खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्णा कुमारी पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति सदस्य इरफान खान, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.गीता रेग्मी, आयुर्वेद कन्सल्टेन्ट डा. अनिल कुमार चौधरी, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना, आयुर्वेद शाखा प्रमुख किरण खनाल, जानकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेल लगायतको सहभागिता रहेको थियो ।
खजुराको नागरिक आरोग्य सेवा केन्द्रले आयुर्वेदका विभिन्न सेवाहरु कार्यालयबाटै प्रदान गर्ने आयुर्वेद शाखा प्रमुख खनालले बताउनु भयो । आयुर्वेदको क्षेत्रमा खजुराले हरेक वर्ष नयाँ उपलब्धी हासिल गर्ने क्रममा सेवाहरु विस्तार गरिरहेको उहाँले बताउनु भयो ।
……….
कालपृष्ठ दैनिकका सम्पादक कमल खत्री सम्मानित
आयुर्वेद सेवाको प्रचार प्रसारमा महत्वपुर्ण योगदान गरेको भन्दैं कालपृष्ठ दैनिकका सम्पादक तथा गोरखापत्रकर्मी कमल खत्री सम्मानित हुनु भएको छ ।
सोमबार खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा भएको पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवाको उद्घाटन कार्यक्रममा खत्रीलाई सम्मान गरिएको थियो ।
खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खत्री सहित पत्रकार चन्द्र बोहोरा र खगेन्द्र दाहाललाई सम्मान गर्नु भएको हो । कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्र खजुरामा कार्यरत कार्यालय सहयोगी सविना केसीलाई सम्मान गरिएको थियो ।
…………
स्वास्थ्य सेवा आयुर्वेद समुह अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो । करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय खत्रीलाई आयुर्वेद सेवाको प्रचार प्रसार तथा जनचेतना मुलक सन्देश प्रवाह गर्न भुमिका निर्वाह गरेको भन्दैं सम्मान गरिएको हो । बाँकेमा आयुर्वेद सेवाको बारेमा खत्रीले नियमित रुपमा समाचार खेल्दैं गर्नु भएको छ ।