कोहलपुरमा १७औ राष्ट्रपति रनिङसिल्ड भोलिदेखी सुरु
Tuesday, January 28th, 2025, 7:41 pm
Kalpristha
निर्मल आचार्य
कोहलपुर, १५ माघ
बुधवारदेखि कोहलपुरमा सञ्चालन हुने ८औ मेयर कप तथा १७औ राष्ट्रपति रनिङसिल्ड खेलकुद छनोट प्रतियोगितामा २ हजार १ सय बढि विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
कृष्ण मावि कोहलपुरको खेलमैदानमा हुने प्रतियोगितामा कोहलपुर नगरभित्रका मावि तर्फका १३ सामुदायीक तथा २७ संस्थागत र आधारभुत तहका ५३ विद्यालयका खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका हुन् ।
एथलेटिक्स, भलिवल, कवड्डी र मार्सल आर्टस गरी ४ विधाका २ शजार १ सय ६७ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा यस पटक चेसलाई समेत खेलका रुपमा समावेश गर्न लागिएको नगर खेलकुद बिकास समिति कोहलपुरका अध्यक्ष चक्र क्षेत्रीले मंगलवार आयोजित प्रत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । कोहलपुर नगरपालिकाको आयोजना तथा नगर खेलकुद विकास समिति कोहलपुरको व्यवस्थापनमा माघ १६ देखि १९ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा विशिष्ट अतिथि कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक ईश्वर प्रसाद विश्वकर्माले खेलकुदको माध्यमबाट शारीरिक र मानसिक स्वास्थ्यलाई बलियो बनाउन प्रतियोगिता महत्वपूर्ण रहने बताउनुभयो । उहाँले यस प्रकारका प्रतियोगिताले युवा पिढीलाई खेलकुदतर्फ आकर्षित गर्न मद्दत पुर्याउने उल्लेख गर्दै स्वस्थ समाज निर्माणमा समेत टेवा पुर्याउने विश्वास ब्यक्त गर्नुभयो ।
प्रतियोगिताको विषयमा जानकरी गराउँदै प्रतियोगिता आयोजक तथा व्यवस्थापन उप–समितिका सदस्य सचिव दिलिप वलीले प्रतियोगितामा छात्र–छात्रा बराबरीको आधारमा प्रतिस्पर्धा गर्ने बताउँदै यसले सबैलाई समान अवसर दिनेछ र भविष्यका उत्कृष्ट खेलाडीहरूलाई उजागर गर्ने बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
कोहलपुर नगरपालिकाले यस प्रतियोगितालाई नगरका खेलकुदका क्षेत्रलाई थप सशक्त बनाउन र विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगदान पुर्याउनका लागि आयोजना गरेको बताइएको छ ।
यस पटक प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरीएको छ । जसअन्तर्गत मावि तर्फ प्रथम पुरस्कार ७५ हजार, द्धितिय पुरस्कार ६५ हजार र तृतीय पुरस्कार ५५ हजार रहेको छ भने उत्कृष्ट खेलाडीलाई ५५ हजार राशीको पुरस्कार प्रदान गरिनेछ । आधारभूत विद्यालय तर्फ भने प्रथम पुरस्कार २५ हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारका पुरस्कार वितरण गरिने बताईएको छ ।