भृकुटी सेकेन्डरी स्कुलको शैक्षिक प्रदर्शन सम्पन्न
Friday, January 31st, 2025, 10:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
विद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा अग्रसर बनाउने उद्देश्यले भृकुटी सेकेन्डरी स्कुलले शैक्षिक प्रदर्शनी–२०८१ को आयोजना गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष जगमोहन काँदुले शुक्रबार शैक्षिक प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।

धम्बोझीस्थित खजुरा रोडमा रहेको स्कुलले आफनो विद्यालय परिसरमा शैक्षिक प्रदर्शनीको आयोजना गरेको थियो । प्रदर्शनीले विद्यार्थीको अध्ययनसँगै अतिरिक्त क्षमताको विकास गर्नमा सहयोग गर्ने कार्यवाहक वडा अध्यक्ष जगमोहन काँदुले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘विद्यार्थीको सम्पुर्ण विकासमा विद्यालयको भुमिका महत्वपुर्ण हुन्छ । यस्ता क्रियाकलाप र अवसरले विद्यार्थीलाई नयाँ नयाँ कुरा सिक्न प्रेरित गर्छ । आफनो रुची अनुसारको काममा विद्यार्थीलाई आर्कषित गरिरहेको हुन्छ । यस्ता रचनात्मक कार्यक्रमहरुले निरन्तरता पाउनु पर्छ ।’ कार्यवाहक वडा अध्यक्ष काँदुले विद्यालयलाई आवश्यक पर्ने सहयोग वडा कार्यालयले गर्ने बताउनु भयो ।

भृकुटी सेकेन्डरी स्कुलका प्रमुख अशोक बस्नेतको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सह–प्रध्यापक एवम् स्कुलका सल्लाहकार मेन बहादुर अधिकारी, बल शाही, सहायक प्रध्यापक परमेश्वर शर्मा लगायतको सहभागिता रहेको थियो । विद्यालयस्तरमा कक्षा ६ सम्म पढाई संचालन गरिरहेको भृकुटी सेकेन्डरी स्कुलमा सुरुआत देखि प्लसटुस्तरको पढाई हुने गरेको छ ।

स्कुलका प्रमुख बस्नेतले उच्चस्तरको भौतिक पुर्वाधार र नयाँ प्रविधिको प्रयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘अनुभवी शिक्षक र व्यवस्थापन टिमले निकै मिहिनेत गरेर बालबालिकाको गुणस्तर विकास गर्नमा लागिरहनु भएको छ । विद्यार्थीको अतिरिक्त क्षमताको विकास गर्ने उद्देश्यले हामीले शैक्षिक प्रदर्शनी गरेका हौं । यस्ता प्रदर्शनीले विद्यार्थीमा भएको प्रतिभाको पहिचान र विकास गर्ने गर्छ । अब वर्ष भरी यस्ता अन्य क्रियाकलाप विद्यालयले आयोजना गर्नेछ ।’