‘पत्रकार सद्भाव वनभोज कार्यक्रम’
Saturday, February 15th, 2025, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३ फागुन
नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकार सद्भाव वनभोज (पिकनिक) कार्यक्रम’ गरेको छ । स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धनार्थ डुडुवा गाउँपालिकासंगको सहकार्यमा डुडुवा वडा नम्बर ५ नानापुरस्थित सिद्धिविनायक लायन्स पार्कमा शनिवार वनभोज कार्यक्रम गरिएको हो । लामो समयदेखि निरन्तरता पाउन नसकेको पिकनिक संस्कृतिलाई नयाँ कार्यसमितिले यस बर्षदेखि फेरि सुरुवात गरेको छ ।
शाखाका सदस्य एवम् क्रियाशील पत्रकारहरुको उल्लेख्य उपस्थितिमा आयोजित वनभोज कार्यक्रममा प्रमुख अतिथिका रुपमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले महासंघको नेपालगञ्ज वडा नम्बर ४ सञ्चारग्राम (बसपार्क) स्थित कार्यालय भवनको माथिल्लो तलामा सेमिनार हल बनाइदिने घोषणा गर्नुभएको छ । उहाँले स्थानीय सरकारका नाताले पत्रकारहरुको साझा संस्था महासंघ बाँके शाखालाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
चौधरीले स्थानीय पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि महासंघ बाँके शाखाले डुडुवा गाउँपालिका क्षेत्रलाई रोजेको भन्दै खुसी ब्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रबद्र्धन तथा ब्यवस्थापनका लागि पालिकाले विशेष योजनाका साथ काम गरिरहेको बताउनुभयो । उहाँले त्यसक्रममा डुडुवा गाउँपालिकाले सम्पादन गरेका महत्वपूर्ण कामहरुको बारेमा समेत पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । जनताको घरदैलोमै सेवा दिइरहेको डुडुवा गाउँपालिकाले २०७९ मंसिर १ गतेदेखि पशुपालक किसानलाई घर–घरमा सेवा दिने उद्देश्यले पशु स्वास्थ्य कार्ड लागू गरेको जनाएको छ । पशु विरामी भए पशु स्वास्थ्यकर्मी घर–घरमा पुग्छन् ।
चौधरीले २०७४ फागुन १ गतेदेखि पशु नश्ल सुधार कार्यक्रम लागू गरेर हालसम्म ९ हजार पाडापाडी र बाच्छाबाच्छी जन्मिइसकेको बताउनुभयो । उहाँले आफ्नो पहिलो कार्यकालको सुरुवातमै यो कार्यक्रम लागू गर्नुभएको थियो । उहाँको यो दोस्रो कार्यकाल हो ।
यस्तै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू छ । यसमा छोरी जन्मिने वित्तिकै उनीहरुको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिन्छ । जुन रकम एसईई गरिसकेपछि २० बर्षपछि मात्र निकाल्न पाइन्छ । त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताउनुभयो । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको छ । उहाँले विद्यार्थीहरुमा सदाचार विकास गर्न नैतिक शिक्षा पनि पढाउन थालिएको जानकारी दिनभुयो ।
अध्यक्ष चौधरीले डुडुवाको हिरमिनिया आलुको पकेट क्षेत्र भएकाले भण्डारणका लागि ७ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर पनि सञ्चालनमा आइसकेको बताउनुभयो । जनतालाई कसरी प्रत्यक्षरुपमा धेरै भन्दा धेरै सेवा दिन सकिन्छ भनेर आफू निरन्तर लागिपरेको अध्यक्ष चौधरीको भनाई छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँके शाखाले राम्रो अभ्यासको सुरुवात गरेको बताउँदै सहकार्यका लागि डुडुवा गाउँपालिकालाई धन्यवाद दिनुभयो । अन्य मोडेलमा महासंघसंग सहकार्यका लागि पनि उहाँले आग्रह गर्नुभयो ।
महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरीले स्थानीय पर्यटकीय स्थलहरुको प्रबद्र्धन र प्रचारप्रसारमा सहयोग पुगोस् भनेर डुडुवा वडा नम्बर ५ नानापुरस्थित पार्कमा ’पत्रकार सद्भाव वनभोज कार्यक्रम’ आयोजना गरिएको बताउनुभयो । उहाँले पर्यटन प्रबद्र्धनमा मिडियाले भूमिका खेल्ने बताउँदै स्थानीय सरकारले पर्यटकीय स्थलहरुको विकास र स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउनुभयो । गिरीले जिल्लाका स्थानीय सरकारहरुसंग सहकार्य गरेर आगामी दिनमा विभिन्न तालिम सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
उहाँले निरन्तररुपमा विभिन्न कार्यक्रम र क्रियाकलाप सञ्चालन गरेर संस्थालाई क्रियाशील बनाइने बताउनुभयो । सचिव कृष्ण ओलीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोजक करुणा शाहले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यसक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसंगै नाचगान समेत गरिएको थियो ।