पाँच दिने उद्घोषण तालिम सम्पन्न, युवा लक्षित कार्यक्रम ल्याउन माग
Wednesday, June 4th, 2025, 12:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ जेठ
ग्रामीण क्षेत्रमा रहेका युवाहरुले पनि शहरी क्षेत्रको जस्तै अवसरहरु प्राप्त गर्नुपर्नेमा जोड दिइएको छ । गाउँ ठाउँमा बस्ने युवाहरुले शहरको जस्तो अवसर पाउनबाट बन्चित हुने गरेको भन्दै गाउँघरका युवा लक्षित कार्यक्रमहरु स्थानीय सरकारले ल्याउनुपर्ने एक कार्यक्रमका सहभागि युवाहरुको भनाई थियो ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आयोजना गरिएको युवाहरुका पाँच दिने उद्घोषण तालिमको समापनमा बोल्ने युवाले आफूहरुका क्षमता अभिबृद्धिका लागि स्थानीय सरकारले विभिन्न खाले कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै स्थानीय शिभा लक्ष्मी शाहीले स्थानीय सरकारले युवाहरुको क्षमता विकास लगायतका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो ।
तालिमले धेरै कुराको सिकाई भएको भन्दै शाहीले अवसरबाट बन्चित युवालाई यस्तो कार्यक्रमले प्रभावित बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकारले आगामी दिनमा युवा लक्षित कार्यक्रमहरु बनाउनुपर्ने कुरामा जोड दिँदै जनप्रतिनिधिलाई अनुरोध गर्नुभएको थियो । यस्तै समापन कार्यक्रम संचालन गर्नुभएकी अन्जली सुनारले जनप्रतिनिधिहरुले विकासका कार्य जस्तै युवा युवतीहरुका लागि कार्यक्रमहरु बनाउन वडालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै १ नम्बरका वडा अध्यक्ष मनवीर क्षेत्रीले थोरै भएपनि क्षमता विकास होस भन्नका लागि यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले तालिममा सहभागि युवाहरुमा सिकाइ उपलब्धी देखिएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्न जोड दिनुभयो ।
युवा नै समाजका ऐना हुन, उनीहरुको विकासका लागि हरेक नेतृत्वकर्ताले सोच्नुपर्छ, वडाअध्यक्ष क्षेत्रीले भन्नुभयो, आज नेतृत्वकर्ताले युवाको क्षमता अभिबृद्धि तथा विकासका लागि ध्यान दिएन भने समाजमा नेतत्ृव गर्न अगाडी बढ्ने युवाको संख्या घट्दै जानेछ । यस्तै खजुरा गाउँपालिका कार्यपालिका सदस्य एवं वडा सदस्य बिष्णु सुनारले यहाँका युवाहरुको आवश्यकतालाई मध्यनजर गरेर यो तालिम संचालन गरिएको बताउनुभयो ।
तालिमका मुख्य प्रशिक्षक ओविराज आचार्यले मानिसमा सकारात्मक क्षमताको पछिल्लो समय आवश्यकता जरुरी रहेको देखिएको बताउनुभयो । उहाँले स्थानीय सरकारले बाटो घाटो, सडक, नाला, भवन, लगायतका कुरामा मात्रै निर्माणमा ध्यान दिइरहेको भन्दै समाजमा व्यवहार परिवर्तनमासमेत ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले पछिल्लो समय देशमा युवाहरुको आवश्यकता तथा मागका बारेमा कसैको ध्यान पुग्न नसकेको भन्दै प्रशिक्षक आचार्यले वडा कार्यालयले छोटो अवधीका भएपनि युवा लक्षित कार्यक्रम संचालन गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा आयोजक रंगशाला नेपाल मिडिया प्रालि नेपालगन्जका अध्यक्ष कमल खत्रीले वडा कार्यालयको सक्रियता र सहकार्यले मात्र यो कार्यक्रम संचालन गर्न सकिएको प्रष्ट पार्नुभएको थियो ।
उहाँले छोटो समयको भएपनि यो तालिमले सहभागि युवाहरुलाई केही न केही सिक्न मद्दत मिलेको र आगामी दिनमा समुदायका कार्यमा सक्रिय भएर नेतृत्व गर्न प्रेरित गर्ने धारणा राख्नुभएको थियो । खजुरा गाउँपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा रंगशाला नेपालले युवाहरुका लागि पाँच दिने उद्घोषण तालिम संचालन गरेको थियो । जेठ १६ देखि २० गतेसम्म भएको तालिममा स्थानीय करिब २० जना युवा युवतीको सहभागिता रहेको थियो भने सो तालिमलाई आचार्य, समिरमान श्रेष्ठ, राम चन्द्र पौडेलले प्रशिक्षण दिनुभएको थियो ।