वार्षिक ४८ लाख भाडा तिर्छ लुम्बिनी प्राविधिक विश्वविद्यालय
Wednesday, October 15th, 2025, 5:25 am
Kalpristha
भिष्म लोध
नेपालगन्ज, २८ असोज
बाँकेमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले भाडाको भवनबाटै आफनो शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको छ । भाडा वापत विश्वविद्यालयले वार्षिक ४८ लाख भन्दाबढी रकम खर्च गर्ने गरेको छ । बाँकेको खजुरामा विश्व विद्यालय स्थापना गरेर शैक्षिक कार्यक्रमहरु संचालनको लागि प्रदेश सरकारले निर्णय गरेको थियो । २०७९ पुष २२ गतेको निर्णयबाट बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम संचालन गर्ने कार्यको सुरुआत गरिएको थियो । तर आफनो स्थायी भवनको अभावका कारण अझैपनि विश्वविद्यालयले भाडाकै घरमा बसेर पढनपाठन गराउने काम गरिरहेको छ ।
सरकारी कार्यालयको व्यवस्थापन खर्च घटाउनु पर्ने दबाब बढिरहेका बेला भने विश्वविद्यालयले झन्डै आधा करोड रकम भाडामा खर्च गर्नुपर्ने बाध्यता रहेको छ । सरकारी कार्यालयहरुलाई सरकारी भवनबाटै संचालन गर्ने व्यवस्थापन मिलाउन नागरिकस्तरबाट दबाब बढाउनु पर्ने बताउनु हुन्छ नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ । ‘सकिन्छ खाली भएका संरचनाको प्रयोग कसरी गर्न सकिन्छ त्यो कुरालाई राज्यले प्राथमिकता दिनुपर्छ । सकिँदैन जग्गा दिएर दिर्घकालिन भवन निर्माण गर्नुपर्छ । भाडाको घरमा संचालन कति दिन गर्ने त्यो कुरा पनि बुझ्न जरुरी छ ।’ श्रेष्ठले भन्नुभयो ।
विश्वविद्यालयले नेपालगन्ज धम्बोझीस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवन पाँच वर्षको लागि भाडामा लिने सम्झौता गरेको छ । मासिक भाडावापत ३ लाख ५० हजार रुपैयाँ विश्वविद्यालयले तिर्नु परिरहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारीले बताउनुभयो । उहाँले भन्नु भयो, ‘तीन वटा भवनको प्रयोग गरेवापत मासिक तीन लाख ५० हाजार भाडा रहेको छ ।’
संघीयतापछि बाँकेमा दर्जनौ सरकारी कार्यालयहरु अन्य प्रदेशमा स्थान्तरण भएका छन् । जसका कारण हाल बाँकेमा भएका दर्जनबढी सरकारी कार्यालयका भवन प्रयोगविहिन अवस्थामा छन् । उचित मर्मत सम्भार र प्रयोग नहुँदा भवनहरु बिग्रदै गैरहेका छन् । यस्तो अवस्थामा प्राविधिक विश्वविद्यालयले भने भाडामा बसेर आफना कार्यक्रमहरु संचालन गर्नुपरेको छ ।

……
अर्काेतर्फ खजुरामा विश्वविद्यालयले प्राप्त गरेको जग्गासमेत हस्तान्तरण हुन सकेको छैन । जग्गा प्राप्तीमा ढिलाई भएका कारण पनि शैक्षिक कार्यक्रमहरु भाडाको घरमा बसेर संचालन गर्नुपर्ने बाध्यता रहेको रजिष्ट्रार रेग भण्डारीले बताउनुभयो । नेपालगन्जमा बिश्वविद्यालय संचालन हुनु गौरवको विषय हो तर स्थानीय सरकार सहयोग गर्ने कार्यमा निष्क्रिय बनेको छ । स्थानीय सरकारले पहलकदमी लिने हो भने विश्वविद्यालयको कार्यक्रमहरु संचालनका लागि सहयोग पु¥याउन सक्छ । प्रदेश सरकारसमेत गम्भीर नुहँदा भाडाको घरमा कार्यक्रमहरु संचालन गर्न बाध्य छ ।

………..
नेपालगन्जमा थुप्रै सरकारी भवन खाली छाडिएका छन् । तर त्यसको उपलब्धीमूलक प्रयोग गर्न सकिने कुरामा प्रदेश सरकारको आँखा पुग्न सकेको छैन । विश्वविद्यालयको गतिबिधि सरकारी भवनबाटै संचालन गर्न सकिए राज्यको मासिक तीन लाखबढी रुपैया जोगाउन सकिन्छ । तर कसैको चिन्ताको विषय नबन्दा हाल आफ्ना कार्यक्रम संचालन गर्न विश्वविद्यालयले वार्षिक आधा करोड रुपैयाँ भाडाबापत तिर्न परेको छ । ३३ जना विद्यार्थीबाट कार्यक्रम संचालन सुरु भएको विश्वविद्यालयमा हाल ३४० जना पुगेका छन् ।
विश्वविद्यालयप्रति विद्यार्थीको आकर्षण पनि बढ्दै गएको देखिएको छ । वार्षिक ४८ लाखका दरले पाँच वर्षको भाडा हेर्दा दुई करोड ४० लाख रुपैया भाडा मात्रै तिर्नुपर्छ । विश्वविद्यालयको आफ्नो जग्गा भएको भए यो रकम भवन निर्माणमा प्रयोग गरेर दिर्घकालिन भाडा बचत हुन सक्थ्यो । यदी सरकारले भाडाबापतको रकम बचत गर्ने नै हो भने नेपालगन्जको कारकाँदोमा रहेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालयको खाली भवन प्रयोगमा ल्याउन सक्छ ।
यस्तै नेपालगन्जमा रहेको प्रहरी तालिम केन्द्र कर्णाली प्रदेश, हाल नेपालगन्ज प्रयोगमा ल्याउन सकिने देखिन्छ । तालिम केन्द्र सुर्खेत जाने भएकाले विकल्पका रुपमा यहाँ विश्वविद्यालय संचालन गर्न उपयुक्त स्थान हुन सक्छ भने सरकारकै अन्य भवनमा न्यूनतम भाडा तिरेर कार्यक्रमहरु संचालन गर्न सकिए राज्यको ढुकुटी केही हदसम्म बचाउन सकिने भण्डारीले बताउनुभयो ।
विश्वविद्यालयलाई प्रदेश सरकारले बाँकेको खजुरा गाउँपालिकामा ५० बिगहा जग्गा दिएको छ । तर सिनेट र लुम्बिनी प्रदेश मन्त्रीपरिषद्को निर्णय नहुँदा जग्गा प्राप्ती हुन सकेको छैन । २०८० मंसिर महिनादेखि सुरुमा दुई वटा विषय बिटेक इन आइटी र बिटेक इन कम्प्यूटर साईन्स एआई संचालन गरेको विश्वविद्यालयले चार वटा विषय थपेर हाल छ वटा कार्यक्रम संचालन गर्दै आएको छ । चार वटा कार्यक्रम अन्तर्गत सिविल इन्जिनियरिङ्ग, आइटी इन्जिनियरिङ्ग, स्नातकोत्तरतर्फ एम टेक इन कम्प्यूटर साईन्स र एम टेक इन आइटी कार्यक्रम संचालन गरेको छ ।