कौशल्या अस्पतालमा पत्रकारको निःशुल्क स्वास्थ्य परिक्षण
Saturday, January 24th, 2026, 8:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १० माघ
बाँकेको कौशल्या मेमोरियल अस्पतालमा पत्रकारहरुको लागि शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको छ । कौशल्या मेमोरियल अस्पताल र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा भएको निःशुल्क स्वास्थ्य परिक्षणमा बाँकेका पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले शिविरको उद्घाटन गर्दै पत्रकारहरुको निम्ति निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम राखेकोमा अस्पताल परिवारलाई धन्यवाद दिनु भयो ।
अध्यक्ष चौलागाईले स्वास्थ्यको प्रवाह नै नगरेर समाचार संकलनमा खटिने पत्रकारको लागि सञ्चालन गरिएको यस्ता शिविर निकै उपयोगी हुने बताउनु भयो । युनियन लुम्बिनी प्रदेश र अस्पतालको यो काम निकै सह्रानिय रहेको उहाँको भनाई थियो । पत्रकारहरुको लागि अस्पतालले आगामी दिनमा विशेष छुट सहितको सेवा उपलब्ध गराउने कौशल्या मेमोरियल अस्पताल कोहलपुरका प्रशासन प्रमुख अर्जुन महतोले बताउनु भयो ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसीले पत्रकार स्वस्थ भएपछि मात्र पत्रकारिता पेशा स्वच्छ हुने भएकाले शिविर आयोजना गरिएको बताउनु भयो ।
शिविरको उद्घाटन अवसरमा प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, निवर्तमान अध्यक्ष अर्जुन ओली, युनियन बाँकेका उपाध्यक्ष कमल खत्री, कालपृष्ठ दैनिकका पत्रकार गणेश राई लगायतको उपस्थिती रहेको थियो । उक्त शिविरमा वरिष्ठ फिजिसियन डा.चेतन अधिकारी लगायत स्वास्थ्यकर्मीले पत्रकारको स्वास्थ्य जाँच गर्नु भएको थियो ।
शिविरमा सहभागी पत्रकारहरूको हेमोग्राम, आरबीएस, आएएफटी, लिपिड प्रोफाइल, ब्लड ग्रुप, इसिजी, युएसजि लगायतका परीक्षण गरिएको थियो । यसै साता नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश र कौशल्या मेमोरियल अस्पतालबीच युनियनका सदस्य तथा उनीहरूको परिवारलाई स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको थियो ।
सो सम्झौता अनुसार नेपाल प्रेस युनियनमा आबद्ध सम्पूर्ण सदस्य र युनियनको सिफारिसमा उपचारका लागि आउने व्यक्ति तथा उनका परिवारले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् ।
यसले पत्रकार र उनीहरूको परिवारलाई सहज, सुलभ तथा किफायती रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौता अनुसार अस्पतालले प्रयोगशाला, एमआरआई, एक्सरे, ईसीजी, डेन्टल विभागलगायत सेवामा २५ प्रतिशत छुट दिनेछ ।

…………
अपरेसन चार्जमा २० प्रतिशत र बेड चार्ज (क्याबिन बाहेक) मा २५ प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ । छुट सुविधा लिनको लागि युनियनको परिचयपत्र वा युनियनको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।