चुनावी माहोल अनि नेपालगन्ज: स्थानीय समस्याको दृष्टिकोण
Monday, January 26th, 2026, 7:46 am
Kalpristha
स्नेहा शर्मा
नेपालगन्ज
“मतदानको कागज सानो भए पनि,
त्यसमा भविष्यको तौल हुन्छ ।
एक छिनको निर्णयले नेपालगन्जको,
पाँच वर्षको भाग्य कोर्छ ।”
चुनाव भनेको एक दिनको कार्यक्रम मात्र होइन, यो लोकतन्त्रलाई बलियो बनाउने निरन्तर प्रक्रिया हो । चुनाव लोकतन्त्रको आधारस्तम्भ र लोकतान्त्रिक शासन प्रणालीको मुटु भनेर मानिन्छ । जनताले आफ्ना प्रतिनिधि छान्ने माध्यम नै चुनाव हो । यस प्रक्रियामार्फत नागरिकले आफ्नो मत प्रयोग गरी देशको शासन व्यवस्थामा प्रत्यक्ष सहभागिता जनाउँछन् । त्यसैले चुनाव केवल राजनीतिक प्रक्रिया मात्र होइन, नागरिक जिम्मेवारी पनि हो ।
चुनाव नजिकिँदै गर्दा नेपालगन्जको राजनीतिक माहोल तातिएको छ, जीवन्त र चहलपहलपूर्ण बन्दै गएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्रका रूपमा चिनिने नेपालगन्जमा चुनावी गतिविधिले सहरका हरेक चोक–चौराहा, गल्ली र बस्तीलाई सक्रिय बनाएको छ । झन्डा, पोस्टर, माइकिङ र चुनावी नाराले सहरको वातावरण नै फरक देखिन्छ । झन्डा, पोस्टर र नाराले सहर भरिएको देखिए पनि मतदाताको चासो ठूला भाषणभन्दा दैनिक जीवनसँग जोडिएका स्थानीय समस्यातर्फ केन्द्रित हुन थालेको छ । नेपालगन्जवासीका लागि चुनाव भनेको अब नेताको अनुहार होइन, समाधान खोज्ने अवसर हो ।
लोकतन्त्रमा जनता नै शासनका वास्तविक मालिक हुन्, र उनीहरूले आफ्नो मतमार्फत प्रतिनिधि चयन गर्ने प्रक्रिया नै चुनाव हो । उनीहरूले तिरेको कर, देखाएको विश्वास र दिएको मतबाट नेता जन्मिन्छन् । सत्ता र पदको स्वाद चाख्दै सिंहदरबार धाउने नेताहरूका लागि नेपालगन्ज केवल चुनाव जित्ने सिँढी बन्यो, तर यहाँका युवाहरू आज पनि रोजगारको खोजीमा गल्ली–गल्ली भौतारिरहेका छन् । नेपालगन्जको प्रमुख समस्या अव्यवस्थित सहरीकरण हो । सडक साँघुरा छन्, यातायात जाम सामान्य बनेको छ, र वर्षायाममा नाली व्यवस्थापन कमजोर हुँदा डुबानको समस्या दोहोरिरहन्छ । यस्ता आधारभूत समस्याबारे उम्मेदवारले स्पष्ट योजना प्रस्तुत नगरेसम्म जनविश्वास जित्न कठिन देखिन्छ । स्वच्छ खानेपानी र फोहोर व्यवस्थापन अर्को गम्भीर समस्या हो । बढ्दो जनसंख्या र बजार विस्तारसँगै फोहरको व्यवस्थापन प्रभावकारी हुन सकेको छैन । कतिपय बस्तीमा खानेपानीको अभाव छ भने कतै पानीको गुणस्तरमै प्रश्न उठ्छ ।
यी विषय चुनावी घोषणापत्रमा बारम्बार उठे पनि व्यवहारमा समाधान हुन सकेका छैनन् । असल नेता त्यो हो, जो चुनावको समयमा मात्र होइन, सधैं जनतासँग जोडिएर रहन्छ । तर व्यवहारमा कहिलेकाहीँ निर्वाचन जित्नु नै अन्तिम लक्ष्य जस्तो देखिन्छ र जनताका समस्या ओझेलमा पर्छन् । यसले जनतामा निराशा र अविश्वास पैदा गर्छ ।
रोजगारी र युवा पलायन पनि नेपालगन्जको मुख्य चिन्ता हो । सीमावर्ती व्यापारिक सहर हुँदाहुँदै पनि स्थानीय युवालाई स्थायी रोजगारीको अवसर सीमित छ । उद्योग, कृषि प्रसोधन र सीपमूलक तालिममा ध्यान नदिँदा युवा विदेशिन बाध्य छन् । बेरोजगारीको चरम अवस्थाले आजको पुस्तालाई निराशा र अन्धकारतर्फ धकेलेको छ । काम नपाएर हतास बनेका युवाहरू लागुऔषध र घातक नशाको दलदलमा फस्दै गएका छन् । यदि यही अवस्था रहिरह्यो भने बेरोजगारी र नशाले आजको पुस्ता मात्र होइन, भोलिको नेपाल नै गम्भीर संकटमा पर्ने निश्चित छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि सुधार आवश्यक छ । सरकारी अस्पतालमा जनशक्ति र सुविधा अभाव छ भने सामुदायिक विद्यालयको गुणस्तर सुधार चुनौती बनेको छ । ग्रामीण क्षेत्रबाट सहर आएका सेवाग्राहीहरूलाई समयमै उपचार र गुणस्तरीय शिक्षा उपलब्ध गराउनु स्थानीय नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हो । बिरामीको रेकर्ड डिजिटल बनाउने, मोबाइल एप वा पोर्टलमार्फत अपोइन्टमेन्ट र रिपोर्ट सजिलै उपलब्ध गराउनुपर्छ । अस्पताल आसपास र सहरभर स्वच्छता सुनिश्चित गर्न, फोहर व्यवस्थापन र सार्वजनिक शौचालयको सुधार गर्नुपर्छ । बालरोग, स्त्रीरोग, हृदय रोग, र मानसिक स्वास्थ्यका लागि विशेषज्ञ डाक्टरलाई नियमित उपलब्ध गराउन सक्नुपर्छ ।आकस्मिक सेवा २४÷७ सुनिश्चित गर्नुपर्छ । गाउँठाउँमा नियमित स्वास्थ्य शिविर सञ्चालन गरेर जनतालाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श उपलब्ध गराउनुपर्छ ।
युवाहरूको सक्रियता नेपालगन्जको चुनावी विशेषता हो । सामाजिक सञ्जाल, बहस र निगरानीमार्फत युवाहरूले पारदर्शिता र उत्तरदायित्वको माग गरिरहेका छन् । यो सकारात्मक संकेत हो, जसले भविष्यमा अझै परिपक्व लोकतन्त्रको आशा दिलाउँछ । नेपालगन्जवासीले निर्वाचित गर्नुपर्ने नेता इमानदार, सक्षम र जनमुखी हुनु पर्छ । यस्तो नेताले भ्रष्टाचार नगरी पारदर्शिता अपनाउने, सार्वजनिक स्रोतको दुरुपयोगबाट टारिने र आफ्ना निर्णयमा जवाफदेही रहने हुन्छ । विकासमुखी सोच भएको नेता सडक, पानी, स्वास्थ्य, शिक्षा, व्यापार र रोजगारी जस्ता स्थानीय समस्यामा वास्तविक योजना ल्याउन सक्षम हुन्छ । साथै, जनताको आवाज सुन्ने, समुदायसँग नियमित संवाद गर्ने र आवश्यकतामा सुधार गर्ने नेतृत्व हुनु जरुरी छ । शिक्षित र दिगो दृष्टिकोण भएको नेता दीर्घकालीन नीति बनाउने, विवाद वा द्वन्द्वबाट टाढा रहने र सहिष्णुता प्रवर्धन गर्ने हुनुपर्छ । यस्तो नेता निर्वाचित भएमा मात्र नेपालगन्जको स्थानीय समस्या समाधान, युवा अवसर सिर्जना र समृद्धि हासिल गर्न सकिन्छ ।
आज प्रश्न स्पष्ट छ— मन्त्री त बने, तर नेपालगन्जका युवाका लागि के गरे?
“अब भाषण होइन, जवाफदेही र परिणाम चाहिएको छ ।” अन्ततःनेपालगन्जको चुनावी माहोल नाराभन्दा समस्या केन्द्रित बन्न थालेको छ । यदि उम्मेदवारले स्थानीय आवश्यकता बुझेर व्यवहारिक र इमानदार प्रतिबद्धता जनाए भने मात्र जनताको विश्वास जित्न सक्छन् । सचेत मतदाताको विवेकपूर्ण निर्णयले नेपालगन्जको भविष्य दिशानिर्देश गर्नेछ । राम्रो लोकतन्त्र राम्रो निर्वाचनबाट, राम्रो निर्वाचन सचेत जनताबाट र सचेत जनता जिम्मेवार नेताबाट सम्भव हुन्छ । यदि यहाँका मतदाताले विवेकपूर्ण निर्णय गरे भने नेपालगन्ज मात्र होइन, समग्र राष्ट्रको लोकतान्त्रिक अभ्यास अझै बलियो बन्न सक्छ । यी तीनै तत्व एक–अर्कामा गहिरोसँग गाँसिएका छन् । जब जनता आफ्नो अधिकार र कर्तव्य दुवै बुझ्छन्, नेता इमानदार बन्छन् र निर्वाचन स्वच्छ हुन्छ, तब मात्र देशले स्थिरता, विकास र न्यायको बाटो समात्न सक्छ ।