“मुक्ति–किरण” अक्षयकोष स्थापना गर्न महेन्द्र पुस्तकालयलाई २ लाख ५० हजार सहयोग
Sunday, May 10th, 2026, 9:40 pm
Kalpristha
अमन अन्सारी
नेपालगञ्ज, बैशाख २७
नेपालगञ्ज–१० निवासी सामाजिक अभियन्ता सुदीप प्याकुर्यालले आफ्ना स्वर्गीय माता–पिता मुक्तिनाथ प्याकुर्याल र किरन प्याकुर्यालको स्मृतिमा महेन्द्र पुस्तकालयमा “मुक्ति–किरण” अक्षयकोष स्थापना गर्न रु. २ लाख ५० हजार सहयोग प्रदान गरेका छन् । आइतबार महेन्द्र पुस्तकालयमा आयोजित कार्यक्रममा प्याकुर्यालले उक्त रकम बराबरको चेक पुस्तकालयका अध्यक्ष बलराम यादवलाई हस्तान्तरण गरेका हुन् ।
बालबालिका तथा विद्यार्थीहरूमा पठन संस्कृति विकास गर्दै पुस्तकालयप्रति आकर्षण बढाउने उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष बाँके जिल्ला स्तरीय माध्यमिक तहको निबन्ध प्रतियोगिता आयोजना गरिने पुस्तकालयले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रममा बोल्दै प्याकुर्यालले आफ्नो विद्यालय जीवनमा पुस्तकालयमा बिताएका समयको स्मरण गर्दै पुस्तकालयले समाजमा शिक्षा, अध्ययन संस्कृति तथा चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले आगामी दिनमा अक्षयकोषको रकम थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । महेन्द्र पुस्तकालय कार्यसमितिले “मुक्ति–किरण” अक्षयकोष स्थापना गरी पुस्तकालय तथा विद्यार्थी समुदायप्रति महत्वपूर्ण योगदान पुर्याएको भन्दै सुदीप प्याकुर्यालप्रति आभार व्यक्त गरेको छ ।
कार्यक्रममा उपस्थित पुस्तकालयका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले उक्त अक्षयकोषले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्नुका साथै पुस्तकालयप्रति रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।