प्रथम अशोक स्मृति कप फुटबलमा चन्द्रज्योति विजयी
Monday, May 11th, 2026, 8:18 pm
Kalpristha
गणेश राई
खजुरा, वैशाख २८ गते
प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिताको दोस्रो दिन चन्द्र ज्योति युवा क्लबले जित हासिल गरेको छ । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशाला मैदानमा सोमबार चन्द्र ज्योतिले सिमलघारी एफसीलाई २–० ले पराजित गरेको छ । चन्द्रज्योतिको जितमा विशाल चन्दले ३५औं मिनेट र रोशन रानामगरले ४४औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा विजेता चन्द्रज्योतिका रोशन प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । प्लेयर अफ द म्याच रोशनलाई अन्तराष्ट्रिय खेलाडी शंकर गिरी, प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निर्वतमान अध्यक्ष तिलकवीर सुनारले पुरस्कृत गर्नु भएको थियो ।

……….
श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँकेको आयोजना, सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–०४ बाँकेको सह–आयोजना र ब्रदर्श एफसीको विशेष सहयोगमा भैरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ । जेठ ३ गते सम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । पुर्व फुटबल खेलाडी अशोक विकको स्मृतिमा भैरहेको प्रतियोगितामा २० वर्ष उमेर समुहका खेलाडीलाई सहभागि गराइएको छ ।
प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपैयाँ, उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक श्री दि फेमस महिन्द्र दल गण भु.पु संघ बाँके अध्यक्ष कृष्णलाल गिरीले बताउनु भयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ ।

…………
प्रतियोगिताको प्रथम पुरस्कार रकम रु.५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनु भएका समाजसेवी तथा खेलप्रेमी लील बहादुर थापाले प्रायोजन गर्नु भएको प्रतियोगिता संयोजक एवम् खजुरा गाउँपालिका वडा नम्बर ४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी गराउनु भयो । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एण्ड रेष्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ ।
प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्टस क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्टस क्लब, ब्रदर्श एफसी, सिमलघारी, चन्द्र ज्योति, खजुरा– ११ (आयोजक), योगिनी युवा क्लब, बागमति युवा क्लब र महिन्द्र दल गण भुपुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत वैशाख २९ गते मंगलबार धम्बोझी एफसी र न्यु दर्पण स्पोर्टस क्लबबिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तिलकवीर सुनारले जानकारी गराउनु भयो ।