ट्रम्पलाई समर्थन नगर्नेहरुलाई अमेरीका प्रबेशमा रोक
Tuesday, January 24th, 2017, 8:22 am
amit
टेक्सास-अमेरीकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई समर्थन नगर्नेहरुलाई अमेरीका प्रबेशमा रोक लगाइएको छ ।
अमेरिका छिर्ने क्रममा पोर्ट अफ इन्ट्रीका अधिकारीहरुले ट्रम्पविरोधी रहेको वा समर्थक रहेको भन्ने प्रश्न गर्दै ट्रम्पविरोधीहरुलाई अमेरिका छिर्न नदिएर फिर्ता पठाइदिएको सीबीसी समाचारले जनाएको छ ।
राजनीतिक आस्थाका आधारमा अमेरिका छिर्नबाट रोकिएकोमा अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । क्यानडाको मोन्टरियलका विद्यार्थी जोसेफ डेकुन्हालाई अधिकारीहरुले ट्रम्पको विरोधी वा समर्थक के हो भन्दै प्रश्न गरेका थिए । दुईजना अमेरिकनको साथमा आउँदै गरेका उनी ट्रम्पबिरोधी रहेको थाहा पाएपछि अमेरिकी अधिकारीहरुले औंठाछाप र तस्विर लिएर उनलाई अमेरिका छिर्न नदिई फिर्ता पठाएका थिए ।
उनले यसअघि आफूलाई कहिलेपनि अमेरिकाछिर्नबाट नरोकिएको र आफूसँग कुनै आपराधिक रेकर्ड पनि नरहेको स्पष्ट पारेका छन् । मोन्टरियलकै सासा डायकलाई पनि अधिकारीहरुले ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका छिर्नबाट रोकेका छन् । उनलाई अधिकारीहरुले गिरफ्तार गर्ने चेतावनी समेत दिएको गार्डियनलाई बताएकी छिन् ।
बेलायती नागरिक जो क्रोसेलाई पनि अधिकारीहरुले अमेरिका छिर्नबाट रोकेका छन् । २३ बर्षका जोलाई औंठाछाप र तस्विर लिएपछि अमेरिका छिर्नबाट रोकिएको थियो ।
अध्यागमनका अधिकारीहरुले उनको फोन र मेसेजहरु चेक गरेर ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका प्रवेश गर्नबाट रोकेका थिए ।
अधिकारीहरुले गाडी समेत चेक गर्दै चालक मुस्लिम रहे नरहेको र अरबिक बोल्ने नबोल्ने समेत चेक गरेको जोले जनाएका छन् । क्यानडा, फ्रान्स र बेलायतका नागरिकलाई अमेरिका प्रवेश गर्न भिसा लिनु नपर्ने नियम रहेको छ ।
(खसोखासको सहयोगमा)