सगरमाथाको उचाइमा भारतीय चासो
Wednesday, January 25th, 2017, 5:14 am
amit
काठमाडौँ – भारत सरकारले विश्वको सर्वोच्च शिखरको रुपमा रहेको सगरमाथाको उचाइ नाप्ने योजना सार्वजनिक गरेको छ । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सगरमाथाको उचाइँमा असर पारेको बारेमा अध्ययन गर्न लागेका हुन् । सर्भेयर जेनेरल स्वर्ण सुब्बा रावका अनुसार आगामी दुई महिनाभित्र एक टोलीलाई सगरमाथाको शिखरमा पठाइनेछ ।
यद्यपि, बिबिसीसँग कुरा गर्दै नेपाली अधिकारीहरुले भने भारतलाई सगरमाथाको उचाइँ नाप्न दिनेबारे कुनै सम्झौता नभएको बताएका छन् ।
भूकम्पपछि भूउपग्रहबाट लिइएका तथ्यांकले सगरमाथाको उचाइ घटेको देखाएको वैज्ञानिकहरुले बताएका थिए । वैज्ञानिकहरुका अनुसार ७.८ रेक्टर स्केलको भूकम्पले हिमालयको एक हिस्साको उचाइ एक मिटरले खस्केको बताउँछन् । विश्वभर मानिँदै आएको सगरमाथाको ८,८४८ मिटर उचाइँ पनि ६२ वर्ष भारतीयहरुले नै गरेको अध्ययनबाट स्थापित भएको हो ।
भारतीय पक्षले फेरि सगरमाथाको उचाइँ यकिन गर्न स्थलगत अध्ययन र आकाशबाट पनि अध्ययन गर्नुपर्ने बताएको छ । यसबाट सगरमाथाको उचाइ यकिन हुने उनीहरुले बताएका छन् ।
रावका अनुसार भारतको सेन्ट्रल म्यापिङ एजेन्सी सर्भे अफ इन्डिया र नेपाल सरकारबीच यसबारे सैद्धान्तिक सहमति भइसकेको छ । तर, नेपालको नापी विभागका उपप्रमुख गणेश भट्टले भने यस्तो कुनै सहमति नभएको र नेपाल आफैले सर्भे गर्ने तयारी गरेको जनाकारी दिए ।
वैज्ञानिकहरुले यसअघि सगरमाथाको उचाइँ घटेको बताए पनि अन्य केहीले भने यसको उचाइँ बढेको हुन सक्ने पनि बताइरहेका छन् ।